काठमाडाैँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले सांसद सरोजकुमार यादव नियुक्त भएका छन् ।
आज बिहानै एमाले मधेशप्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बिहान चार बजे बिरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सीमाना जंगलमा रहेको पानस कटेजमा यादवलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।
प्रदेश प्रमुख सुवेदीले आफू बिरामी परेको र श्वास फेर्ने गाह्रो भएकाले उपचारका लागि काठमाडौँ जान लागेको कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएकी थिइन् ।
सोनलले प्रदेश प्रमुखलाई फुलको बुकीसहित विदाइ गरेका थिए ।
बिरामी भन्दै काठमाडौँ हिँडेकी मधेश प्रमुख सुवेदीले बिचबाटोमै प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
एमाले बाहेकका सात दलले शनिवार मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामा पछि धारा १ सय ६८ को २ अनुसार नै नयाँ सरकार बन्नुपर्ने भन्दै माग र प्रदर्शन गरिरहेका थिए ।
सोनलले विश्वासको मत सामना गर्नुपूर्व नै राजीनामा दिएकाले १ सय ६८ को ३ सक्रिय नहुने अन्य दलहरूको दाबी थियो ।
एमालेको यस नयाँ खेलमा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राप्रपाको पनि साथ छ ।
समाजवादी पार्टीबाट विमला अन्सारी, राप्रपाबाट कञ्चन विच्छा र एमालेबाट लखन दास विना विभागीय मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख भण्डारी एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्