फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध छः स्वास्थ्यमन्त्री गौतम


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा निर्वाचन सम्पन्न गराउन कटिवद्ध रहेको बताएकी छन्। सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक वातावरण सिर्जना गर्न सबै राजनीतिक दलहरूलाई सक्रिय हुन आग्रह गरेकी हुन् ।

मन्त्री गौतमले सरकार शान्ति सुरक्षा कायम गरेर निर्वाचन समयमै सम्पन्न हुनेमा प्रतिबद्ध रहेको बताउँदै आम मतदातालाई आश्वस्त पार्ने काममा सबै पक्षलाई केन्द्रित हुन आग्रह गरिन्। उनले भनिन्, “हामी जेनजी आन्दोलनको क्रममा देशमा आमुल परिवर्तन ल्याउनुपर्छ। हाम्रो मुख्य म्यान्डेट निर्वाचन गर्नु हो। त्यसका लागि सकारात्मक वातावरण बनाउनु आवश्यक छ। सबै मन्त्रीज्यु र दलमार्फत जनतालाई आश्वस्त पार्ने काममा लागौं।”

उनले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको जानकारी दिए। साथै, आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य सेवा संस्थामा निःशुल्क उपलब्ध औषधिहरुको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई सचेत गराए। स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गर्ने आश्वासन समेत दिए।

उनले भनिन्, “नेपाल सरकारले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुन बमोजिम उपलब्ध गराउनुपर्छ। प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालमा औषधि निःशुल्क उपलब्ध हुनुपर्छ। कुनै विरामीले औषधि पाउन सकेन भन्नुहुँदैन।” उनले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको पनि स्मरण गराइन्।