डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे सडक ठेक्कामा ५५ लाख भ्रष्टाचार, ८ जना विरुद्ध मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ स्थित खदाङ–ल्हाँ मोटरबाटो स्तरोन्नती ठेक्कामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा आरोपपत्र दायर गरेको छ।

आयोगको अनुसन्धानअनुसार ठेक्का प्रक्रियामा नगरपालिकाका कर्मचारी र निर्माण व्यवसायीबिच मिलेमतो गरी दिव्या निर्माण सेवा प्रा.लि. लाई बढी रकमको ठेक्का प्रदान गरिएको देखिएको छ।

जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाले आ.व. २०७८/७९ मा उक्त सडक स्तरोन्नतीको लागि रू. ८३ लाख ८२ हजार ९९८.८२ लागत अनुमान स्वीकृत गरी मिति २०७९।०१।२५ मा बोलपत्र आह्वान गरेको थियो। बोलपत्र मूल्याङ्कनमा भने “Citizenship of Company Owner” पेश नगर्ने बोलपत्रदातालाई बहिष्कार गरियो भने न्यूनतम रकम कबोल गर्ने कृष्ण निर्माण सेवालाई अस्वीकृत गर्दै बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवा प्रा.लि. लाई उत्तिर्ण गराइएको थियो।

अनुसन्धानले बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरूले जानाजानी गलत मूल्याङ्कन गरी दिव्या निर्माण सेवालाई लाभ दिलाएका थिए। यसबाट नगरपालिका र सरकारी संस्थालाई रु. ५५ लाख ८९ हजार ०६३.०६ बराबरको आर्थिक हानि पुगेको आयोगले जनाएको छ।

आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, इन्जिनियर कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, MIS अपरेटर हरिचन्द्र बिष्टसहित दिव्या निर्माण सेवा प्रा.लि. का प्रो. भीमराज न्यौपानेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार मुख्य कसूरदारहरूलाई सोही ऐन अनुसार कैद र जरिवानासहित बिगो असुल हुने सजाय माग गरिएको छ।