काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा), शिर्ष डिभिजन लिगका क्लव र खेलाडीहरूबिच मंगलवार युवा तथा खेलकुद मन्त्रालयमा बैठक हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबिच सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तय बैठक अवरोध भएको थियो । यससँगै खेलकुद मन्त्रालयको पहलमा तीन पक्षबिच मंगलवार सिंहदरबारमा बैठक हुने भएको हो ।
यसअघि पनि एन्फा, शिर्ष डिभिजन लिगका क्लव र खेलकुद मन्त्रालयबिच लिग गर्ने विषयमा छलफल भएको थियो । उक्त छलफलपछि नै एन्फा र क्लवबीच शिर्ष डिभिजन लिग आगामी वर्ष गर्ने सहमति भएको हो ।
त्यो निर्णयको विरोध गर्दै खेलाडीहरू आन्दोलन उत्रिएका हुन् । फुटबल खेलाडीहरूले शहीद स्मारक ‘ए’ डिभिजन लिग गराउन माग राख्दै केही समयअगाडि एन्फा गेटमा आन्दोलन सभा आयोजना गरेका थिए । सोही घटनापछि एन्फाले खेलाडीलाई वार्तामा बोलाएको थियो । खेलाडी संघले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग राखेपछि दुई पक्षबिच एन्फामा तय बैठक हुन नसकेको हो ।
एन्फाले आइतवार नै प्रेस विज्ञप्ती जारी गर्दै खेलाडीलाई छलफलमा बोलाए पनि बैठक हुन सकेन । बैठकअगाडि नै खेलाडीहरूले समाजिक सञ्जालबाट बैठक लाइभ गरे मात्र छलफलमा बस्ने स्पष्ट पारेका थिए । तर एन्फाले उनीहरूको प्रस्ताव अस्वीकार गरेपछि सोमबार हुने भनिएको बैठक अवरोध भएको हो ।
अब मन्त्रालयको रोबहरमा एन्फा, क्लव र खेलाडीबिच सिंहदरबारमा बैठक बस्ने भएको छ । खेलाडीहरूले आन्दोलनप्रति चासो राख्दै बैठक आह्वान गरेकोमा एन्फालाई धन्यवाद दिएका थिए । तर खेलाडीले आम फुटबलप्रेमीको पनि चासोको विषय भएकोले प्रत्यक्ष प्रशारणको माग राखे ।
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो । फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले ट्रान्सपरेन्सी चाहिएको र वास्तविक समस्या के रहेछ भन्ने सरोकारवालाहरूलाई देखाउन आवश्यक रहेकाले लाइभ माग गरिएको उल्लेख गरेका छन् । बन्द कोठमा जे पनि सम्झौता हुनसक्ने र एन्फाले आपसी बैठक प्रत्यक्ष रूपमा सार्वजनिक नगरौं भन्ने कुरा गरेपछि आफूहरूले बैठक बहिस्कार गरेको उनको भनाइ छ ।
गत सोमवार एन्फा र शिर्ष डिभिजन क्लबबिचको बैठकले यस वर्ष पनि शिर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । शिर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरू आक्रोसित भएका हुन् । तीन दिनपछि खेलाडीहरू आन्दोलनमा उत्रिए । एन्फा लिग आयोजनाबाट भाग्न खोजेको र लिग हुनैपर्ने भन्दै खेलाडीले आह्वान गरेको आन्दोलनमा सरोकारवालाले पनि समर्थन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्