काठमाडौँ । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन्।
सोमबार निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट कम्तीमा २० प्रतिशत मत ल्याउन सफल भए मात्र सरकारमा सहभागी हुने बताएका हुन्। उनका अनुसार पार्टीले सत्ता होइन, राष्ट्र निर्माणको दीर्घकालीन दृष्टिकोणका साथ राजनीतिमा प्रवेश गरेको हो।
बस्नेतले देशको वर्तमान राजनीतिक अवस्थालाई चुनौतीपूर्ण बताउँदै जनताको बदलिँदो आकांक्षा र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफ्नो दलले नयाँ दिशामा यात्रा सुरु गर्ने बताए। उनले राष्ट्र गम्भीर मोडमा रहेको र यसलाई सफलताको बाटोमा डोर्याउने जिम्मेवारी आफ्नो पार्टीले लिने दाबी पनि गरे।
उनका अनुसार गतिशील लोकतान्त्रिक पार्टीले छोटो समयका फाइदाभन्दा पनि दीर्घकालीन राष्ट्रिय दृष्टिकोणलाई प्राथमिकता दिनेछ। उनले भने, “हामीले एउटा सुन्दर भविष्य देखेका छौँ, त्यसलाई साकार पार्ने दृढ संकल्पका साथ अघि बढ्नेछौँ। यो हाम्रो पुस्तामात्र होइन, आगामी सन्ततिहरूका लागि त्याग, निष्ठा, इमानदारिता र सृजनशीलताको आधारमा एकजुट भएर अघि बढ्नेछौँ।”
बस्नेतले जेन–जेड पुस्ताको आन्दोलनपश्चात् पार्टीको सांगठनिक कार्य औपचारिक रूपमा सुरू भएको जानकारी पनि दिए।



प्रतिक्रिया दिनुहोस्