—मुना दाहाल—
तिहारपछि हाम्रो परिवारले मुस्ताङ, पोखरा, बन्दैपुर, बागलुङ र केही अन्य ठाउँहरू घुम्न जाने योजना बनायो। स्कुल १० दिनको पर्व विदाकाे छुट्टीमा बन्द भएको थियो, हामी पनि फुर्सदकाे समयमा थियौँ । मौसम पनि यात्रा गर्न उपयुक्त थियाेऽ न त धेरै तातो न धेरै चिसो। त्यसैले दशै तिहासकाे समय यात्रा गर्न निकै उपयुक्त रहेछ।
मुस्ताङ आफ्नो प्राकृतिक सौन्दर्य, संस्कृति र उत्पादनका लागि प्रसिद्ध छ। यहाँका उच्च पहाडी क्षेत्रमा मीठा र रसिला स्याउ पाइन्छ । जमिन र मौसमको कारण आलु पनि राम्रो उत्पादन हुन्छ।
मुस्ताङमा बन्दगोभी, गाजर, मकै, जामुन र सुन्तला जस्ता तरकारी र फलफूल पनि उत्पादन हुन्छन् । यहाँ हिमाल, पहाड, खोँच र नदीहरूले यहाँकाे प्राकृतिक सुन्दरताका प्रमुख स्राेत हुन् । कालीगण्डकी नदी विश्वकै फरक विशेषता भएकाे नदी हाे, कालीगण्डकीमा पाइने सालीग्रामकाे महत्व नै व्यग्लै छ ।
मुस्ताङ यात्रामा पर्ने लोमाङ्थाङको राजा दरबार, मठ मन्दिरहरू स्थानीय संस्कृति र परम्पराको परिचायक हुन्। स्थानीय खाना, आगोमा पकाइने परिकारदेखि घोडा, याक र खच्चरले पनि मुस्ताङलाई फरक विशेषताकाे अनौठो बनाएका छन्।
घोडामा लगाइने घण्टी, जैविक खेती र विशिष्ट वातावरणले यहाँको जीवनशैलीलाई अरू ठाउँभन्दा फरक र रोचक बनाएको छ। हामी माथिल्लाे मुस्ताङ (अपर मुस्ताङ) सम्म पुगेका थियाैँ । अपर मुस्ताङकाे सुन्दर दृश्य, खोँच र पहाडहरू देखेर हामी अचम्मित भयौं । जाे काेही पनि अचम्मित नभइ बस्न सक्दैन यहाँ पुगेपछि ।

हामी लोमाङ्थाङ पनि घुम्यौं, जहाँको राजा दरबार, मठ मन्दिरले हाम्रो अनुभवलाई अझ रोचक बनायो। त्यहाँ च्याङ्ग्रा, याक र घोडा जस्ता जनावरहरू देख्न पायौँ । यात्रामा हामीले स्याउको जुस पियौं र मुस्ताङमा प्रसिद्ध आलु, स्याउ र अन्य फलफूलको स्वाद पनि चाख्यौं।
बच्चाहरू, कामना र सुरवी, ती सबै कुरामा धेरै उत्साहित थिए। हामीले खाना, फलफूल र स्थानीय उत्पादनको स्वाद टेस्ट गर्दै रमाइलो अनुभव गर्यौं। यो यात्रा केवल घुमाइ मात्र नभई, प्रकृति, संस्कृति, स्थानीय जीवनशैली र जनावरसँगको अनुभव बुझ्ने अवसर पनि बन्यो।
पाेखराबाट बाग्लुङ, पर्वत र म्याग्दीकाे बेनी हुँदै मुस्ताङ जाने बाटाे पर्छ । बाटाेमै पर्ने बागलुङको कालिका मन्दिरकाे छुट्टै विशेषता रहेछ । बाग्लुङ कालिका र मुक्तिनाथकाे सम्बन्धकाे कथाहरू पनि राेचक छन् । कतिपयले जाँदा र कतिपयले फर्कँदा मन्दिरकाे दर्शन गर्ने गर्दछन् ।
म्याग्दीकाे बेनी हुँदै जाँदा बाटाेमै पर्छ तातो पानी, हामी पनि हेर्न गयौं । प्राकृतिक रूपमा रहेका ताताेपानीकाे कुण्डमा बस्दा शरीरलाइ आराम हुने र कतिपय राेग पनि निकाे हुने विश्वास रहेछ । ताताेपानी हुँदै जाेमसाेम र कागबेनी पुग्यौँ । जहाँ प्राकृतिक सुन्दरताको आनन्द लिएर हावामा रमाउने अवसर पनि पायाैँ । त्यसपछि हामी मुक्ति स्थल मुथिनाथ गएर धार्मिक र सांस्कृतिक अनुभव लियाैँ । अनि अपर मुस्ताङकाे अनुभव लिएर फर्कियाैँ । फर्कँदा पर्वतकाे कुश्मा घुम्यौं र अन्तमा पोखरा र बन्दिपुर पनि हाम्रो यात्रामा समावेश थिए।
हाम्रो मुस्ताङ यात्रा साँच्चै रोचक र सम्झनलायक रह्यो। बाटोभर मेरा छोरीहरू कामना र सुरवी अनगिन्ती प्रश्न सोधिरहन्थे।कामनाले सोधी, “बाबा, आज हामी कुन होटलमा बसौं? होटलको नाम के हो?”

मैले मुस्कुराउँदै जवाफ दिएँ, “छोरी, अहिले हामी स्थानीय होटेलमा बस्छौं, नाम त साना गाउँको होटेल हो, तर खाना र सेवा रमाइलो छ।”
फेरि उत्साहित भएर सोधी, “यहाँ मात्रै हिमाल किन छन्? काठमाडौंमा त सबै शहरी छ नि।”
मैले सम्झाएँ, “छोरी, मुस्ताङ पहाडी क्षेत्रमा पर्छ, त्यसैले यहाँ हिमाल र पहाड धेरै छन्। काठमाडौं शहर हो, त्यहाँ शहरी संरचना बढी छ।”
यात्रामा घोडा पनि देख्यौं। सुरवीले सोधी, “बाबा, घोडाले घण्टी किन लगाउँछ? लामो समय किन टिक्छ?” मैले भनें, “घोडाले हिँड्दा घण्टीले मानिस र जनावरलाई सतर्क बनाउँछ। घण्टी लामो समय टिक्छ किनभने राम्रो धातु प्रयोग गरिएको हुन्छ।” त्यहाँको दृश्य हेर्दा मलाई लाग्यो कि जाता (स्थानीय मूर्तिहरू) माटोबाट बनेका छन्, र तिनले परम्परा र धार्मिक संस्कृतिको अद्भुत झलक दिन्छ।
त्यहाँको वातावरण, पहाड र खोँचको संयोजनले साँच्चै अद्भुत अनुभव दिन्छ। बच्चाहरू, कामना र सुरवी, यी मूर्तिहरू देखेर धेरै उत्साहित भए र त्यसको बारेमा प्रश्न सोधिरहन्थे। हाम्रो यात्रा निकै चुनौतीपूर्ण पनि रह्यो। ४६०० मिटरको उचाइमा पुगेपछि हावाको बेग र पहाड चढ्दाको कठिनाईले अलिकति गाह्रो भयो।
बाटाेमा ड्राइभर दाइले लसुन खान सुझाउनुभयो, यसले लेक लाग्न बाटाे जाेगायाे । यसाे गर्दा शरीरमा ऊर्जा बढ्छ र ठुलो उचाइको असर कम हुने रहेछ । त्यहाँको वातावरण, उचाइ र कठिन यात्रा सबै मिलेर साहसिक अनुभव बनायो।

लोमाङ्थाङको राजा दरबार पनि गयौं। कामना र सुरवीले हेर्दै सोधिन्, “बाबा, दरबारमा पुलिस गार्ड के हो?” मैले बुझाइँ, “दरबारमा सुरक्षा कुकुर राखिएको छ। त्यसले दरबार सुरक्षित राख्छ।
स्कुल, पढाइ, र बालबालिकाका अनुभवमा पनि उनीहरू जिज्ञासु थिए। कामनाले भनिन्, “बाबा, हामी स्कूल जाँदा पढ्न मात्र जान्छौं, घरमा कुरा गर्ने मौका कम हुन्छ।” मैले हाँस्दै जवाफ दिएँ, “हो, छोरी, यही कारणले हामीले यस्तो यात्रा आयोजना गरेका हौं वास्तविक जीवनबाट सिक्ने मौका पाइयो।”
यात्राको क्रममा हामी बण्डारी बाबाको घर पनि गयौं। म त्यहाँ खाना खाइयाे । उनले आगोमा पकाएको स्थानीय खाना खुवाए र साँच्चै त्यसको स्वाद धेरै मिठो थियो। त्यहाँको खाना सरल भए पनि माया र परम्पराको स्वादमा भरिपूर्ण थियो।
त्यसै बेला म सोचें यस्ता अनुभवहरूले बच्चाहरूलाई सिर्जनशीलता, आत्मनिर्भरता, र भविष्यको सुरक्षा बारे पनि सोच्न सिकाउँछ। बण्डारी बाबाले मेहनत गरेर कमाएको पैसा, घरपरिवारको व्यवस्थापन र सुरक्षित भविष्यका लागि गरेका योजना देख्दा मलाई पनि यस्तो सोच आउँछ कि म पनि भविष्यमा सुरक्षित र जिम्मेवार बन्नुपर्छ।
बच्चाहरूले केवल किताब पढेर मात्र होइन, जीवनका साना–साना अनुभव, खाना बनाउने प्रक्रिया, स्थानीय जीवनशैली, र आमाबाबासँग बिताएको समय बाट धेरै कुरा सिक्न सक्छन्। यो यात्रा केवल रमाइलो घुमाइ मात्र नभई, जीवनको शिक्षा र जिम्मेवारी बुझ्ने अवसर पनि बनेको थियो ।
बालबालिकाले एक वर्षभरि विद्यालयमा गएर सिक्नेभन्दा बढी व्यवहारिक अनुभवबाट सिक्न सक्छन्। विद्यालयमा किताब र कक्षाकोठामा पढाइ महत्त्वपूर्ण भए पनि, साँचो शिक्षा त जीवनका वास्तविक अनुभवबाटै आउँछ।यो यात्रा केवल घुमाइ मात्र थिएन, म र मेरा छोरीहरूबीचको माया, समझदारी र सम्बन्ध गहिरो बनाउने अनुभव पनि रह्यो।

बच्चाहरूले जीवनका साना तर महत्वपूर्ण कुरा सिके प्रश्न गर्न, बुझ्न र हरेक कुरामा सौन्दर्य खोज्न। आमाबाबुको लागि सबैभन्दा ठूलो खुशी भनेको उनीहरूको उत्सुकता र मुस्कान हो। जब बालबालिका प्रकृतिमा घुम्छन्, साथीहरूसँग खेल्छन्, प्रश्न सोध्छन् र आफ्नै अनुभवबाट कुरा बुझ्छन् ।
यात्रामा उनीहरूले समस्यालाई बुझ्ने, निर्णय गर्ने र जीवनसँग सम्बन्धित ज्ञान सिक्ने क्षमता विकास गर्छन्। उदाहरणका लागि, मुस्ताङ जस्तो ठाउँमा यात्रा गर्दा, कामना र सुरवीले केवल किताब पढेर नभई प्रकृतिको निरीक्षण, मानिस र जनावरसँगको सम्बन्ध, अनि दैनिक जीवनका चुनौतीहरू सिके।
त्यसैले मलाई विश्वास छ कि बालबालिकाले वास्तविक जीवनमा अनुभव गर्न पाउँदा सिकाइ अझ दिगो र प्रभावकारी हुन्छ। स्कूलको शिक्षा महत्त्वपूर्ण भए पनि, जीवन अनुभव र परिवारसँग बिताएको समय साँचो शिक्षा दिने सबैभन्दा ठूलो माध्यम हो।
तपाइँ पनि आफ्ना बालबालिकालाइ नेपालकाे प्राकृतिक, साँस्कृतिक, माैगाेलिक, धार्मिक लगायतका विषयमा ज्ञान दिन चाहनु हुन्छ भने वर्षमा एक दुइ पटक भए पनि लामाे यात्रा गर्नुहाेस् । कक्षा काेठाभन्दा टाढा प्राकृतिक पाठसालामा पुग्दा बालबालिका मात्र हैन सँगै जाने अभिभावकले पनि राेमान्चक हुने अवसर मिल्छ । र अवसर मिल्छ प्रकृति, वालबालिका र अभिभावककाे अन्याेन्यास्रित सम्बन्ध विस्तारकाे ।



प्रतिक्रिया दिनुहोस्