काठमाडौँ । धितोपत्र बोर्डका कर्मचारी काममा फर्किलगत्तै सोलु हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशनको अनुमति पाएको छ ।
धितोपत्र बोर्डले सोलुलाई आइपिओको अनुमति दिएको हो ।
कम्पनीले सय रुपैयाँका दरले दुई करोड कित्ता सेयर निष्काशन गर्न लागेको छ ।
बोर्डका अनुसार कर्मचारी काममा फर्केकै दिन कात्तिक २४ गते सोलुले आइपिओ निष्काशनको अनुमति पाएको हो ।
आइपिओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड र हिमालय क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
बोर्डका कर्मचारीहरू आसोज ७ गतेदेखि आन्दोलनमा उत्रिएपछि बोर्डको काम ठप्प थियो ।
अर्थ मन्त्रालयले गत असोज २ गते पत्र पठाउँदै नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि ( २०७१ ) र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि ( २०७५) खारेजीको जानकारी गराएको थियो ।
कार्यविधि खारेजीसँगै बिगतमा लिएको रकमसमेत कर्मचारीको तर्फबाट असुलउपर गर्न भनिएको थियो ।
यसपछि कर्मचारी आन्दोलित भएका थिए । आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि पुनरावलोकन कमिटी गठन गर्ने सहमतिसँगै कर्मचारी काममा फर्किएका थिए ।
कर्मचारी काममा फर्किलगत्तै सेयर निष्कासन अनुमतिको काम सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस्