काठमाडौँ । नेपाल वायुसेवा निगम सुधारका लागि निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले काम सुरु गरेका छन् ।
पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निमित्त महाप्रबन्धक कालाखेतीले निगमका अनावश्यक कर्मचारी कटौती सुरु गरेका हुन् ।
निगमले हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीहरूको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजको मितिदेखि नै लागु हुने गरी अन्त्य गरेको निमित्त महाप्रबन्धक जनक कालाखेतीले जानकारी दिए ।
निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान सङ्ख्यालाई मध्येनजर गरी कर्मचारी कटौती गर्दै लाने नीति लिएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता अनिल घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको जानकारी गराउदछौं ।”
निगममा कर्मचारीको सङ्ख्या आवश्यकताभन्दा बढी भएको भन्दै आलोचना हुँदै आएको छ । निगम अर्बौ ऋणमा हुँदा पनि अनुत्पादक कर्मचारीको सङ्ख्या धेरै भएको गुनासोपछि निमित्त महाप्रबन्ध कालाखेतीले सुधार अभियान सुरु गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्