काठमाडाैँ । निर्वाचन आयोग, नेपालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता खुला राख्दै १८ वर्ष उमेर पूरा गर्न लागेका नागरिकहरूलाई आफ्नो नाम दर्ता गर्न अपिल गरेको छ।
आयोगले मिति २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नेपाली नागरिकले मतदान अधिकार प्राप्त गर्ने भएकाले उनीहरूले समयमै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन आग्रह गरेको हो। आयोगका अनुसार, हाल नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे पनि फागुन २० सम्म १८ वर्ष नपुग्ने व्यक्तिहरूले निर्वाचन सम्पन्न भएपछि मात्र नाम दर्ता गर्न सक्ने व्यवस्था छ।
नाम दर्ता केन्द्रहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले विशेष व्यवस्था गरेको छ। दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा बिहान र बेलुकी गरी दुई सिफ्टमा—प्रत्येक ६/६ घण्टाका दरले—१२ घण्टासम्म सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
आयोगका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा यस कार्यका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ। अन्य जिल्लाहरूमा भने सेवाग्राहीको चापका आधारमा आवश्यक जनशक्ति खटाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत पत्राचार गरिएको छ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले यस व्यवस्थाले नाम दर्ता प्रक्रियालाई सहज, छरितो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। आयोगले नागरिकहरूलाई समयमै नाम दर्ता गरी आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न तयारी गर्न पनि आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्