आइएमईकाे २५औं वार्षिक साधारण सभा सम्पन्न, ‘कम्प्लिट फाइनान्सियल सलुसन्स’तर्फको यात्रा अगाडि बढाउने घोषणा


काठमाडौँ । देशकै अग्रणी रेमिटेन्स सेवा प्रदायक संस्था आइएमई लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा मंगलबार काठमाडाैँमा सम्पन्न गरेको छ।

संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा अध्यक्ष ढकालले आइएमईले विगत २५ वर्षमा रेमिटेन्स सेवा क्षेत्रमा जनविश्वास आर्जन गरी सबैभन्दा लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्दै यस सफलताका लागि कम्पनीसँग सम्बद्ध कर्मचारी, एजेन्ट, साझेदार संस्था र ग्राहकहरूलाई धन्यवाद ज्ञापन गरे।

उनले आगामी वर्षहरूमा नयाँ प्रविधि, रणनीति र व्यवसायिक विस्तारमार्फत आइएमईलाई “कम्प्लिट फाइनान्सियल सलुसन्स”को रूपमा विकसित गर्ने योजना रहेको जानकारी दिए।

ढकालले प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको दायरा अझ व्यापक बनाउने र वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले विगत २५ वर्षमा देशको आर्थिक सबलीकरण, उद्यमशीलता प्रवर्द्धन र नागरिक जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले आइएमईको यात्रा केवल व्यवसायिक उपलब्धिमा सीमित नभई सामाजिक र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने गौरवपूर्ण उदाहरण भएको उल्लेख गरे।

त्यस्तै, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कम्पनीले आगामी वर्षहरूमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई अझ सहज, सरल र सुरक्षित बनाउने लक्ष्य राखेको जानकारी दिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको ब्रान्ड पहिचानलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

२५ वर्षको यात्रामा आइएमई लिमिटेडले नेपालभित्र र बाहिर रहेका लाखौं नेपालीबीच विश्वास र सेवा सञ्जाल विस्तार गर्दै रेमिटेन्स उद्योगमा अग्रणी स्थान कायम राख्न सफल भएको छ।