लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ६ चालक पक्राउ


काठमाडौँ । राजधानीमा नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने चालकहरूलाई काठमाडौँ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सुकेधारामा गरिएको नियमित ट्राफिक चेकजाँचका क्रममा सार्वजनिक तथा भाडाका सवारीसाधन चलाउने ६ जना चालकहरू लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये पठाओ मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिका–का २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजगाई, मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय भाडाबस चालक कपिल थापा र सल्यानका २२ वर्षीय बोलेरो जिप चालक भिमबहादुर खड्का रहेका छन्।

ट्राफिक प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको जनाएको छ। प्रवक्ता सुवेदीका अनुसार यात्रु बोक्ने जस्ता संवेदनशील सवारीसाधन सञ्चालन गर्ने चालकहरूले लागुपदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर नियम उल्लंघन र दण्डनीय कार्य हो। यस्तो कार्यले चालक मात्र होइन, यात्रुको जीवन समेत जोखिममा पार्ने भएकाले प्रहरीले कडाइका साथ निगरानी बढाएको छ।

प्रहरीले यात्रुहरूलाई समेत सचेत रहन आग्रह गरेको छ। यदि सवारीसाधनको चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ।