जेनजी आन्दोलनकाे क्षतिको बिमा दाबीमध्ये हालसम्म ३ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी


काठमाडाैँ । गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीमध्ये हालसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बिमितहरूलाई भुक्तानी गरिएको छ।

यो रकममा निर्जीवन बिमा कम्पनीहरूले गरेका अग्रिम भुक्तानीहरू समेत समावेश छन्। बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार आन्दोलनका कारण भएको क्षतिको कुल बिमा दाबी करिब २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

बिमा प्राधिकरणका अनुसार हालसम्म भुक्तानी गरिएको रकममध्ये सबैभन्दा ठूलो हिस्सा सम्पत्ति बिमातर्फ परेको छ। सम्पत्ति बिमामा ६९३ ओटा दाबी परेको र ती दाबीहरूको कुल मूल्य करिब १९ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेको छ ।सोमध्ये करिब २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ बिमितहरूलाई भुक्तानी गरिएको छ।

मोटर बिमातर्फ २ हजार २९० ओटा दाबी परेका छन्। ती दाबीहरूको कुल मूल्य करिब ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ रहेकोमा हालसम्म करिब ६८ करोड ६१ लाख रुपैयाँ बिमितहरूलाई भुक्तानी गरिएको छ।

त्यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ ओटा दाबी परेका छन्। ती दाबीहरूको कुल मूल्य करिब ५४ करोड ७५ लाख रुपैयाँ रहेकोमा करिब ६ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ। परिवहन बिमातर्फ १२ ओटा दाबीको करिब १ करोड ६८ लाख रुपैयाँ दाबी रकममध्ये करिब ४७ लाख रुपैयाँ भुक्तानी भएको छ। अन्य बिमातर्फ ४२ वटा दाबी परेका छन्, जसको कुल दाबी रकम करिब ३९ करोड ३० लाख रुपैयाँ रहेकोमा करिब २३ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित भुक्तानी गरिएको बिमा प्राधिकरणले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी उपलब्ध गराएको छ।

नेपाल पुनर्बिमा कम्पनीमा हालसम्म २ हजार ८५७ ओटा पुनर्बिमा दाबी परेका छन्, जसको कुल दाबी रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।