झापाको दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलामाथि नक्कली प्रमाणपत्र प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर


काठमाडाैँ । झापाकाे दमक नगरपालिका वडा नम्बर ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा बुधबार आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शिक्षक निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटना बाट जारी भएको मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।

अनुसन्धानका क्रममा उनी वि.सं. २०५५ सालमा अस्थायी नियुक्ति भई उक्त विद्यालयमा कार्यरत रहेको र मिति २०७५ साल चैत २८ गते स्थायी नियुक्ति लिई प्राथमिक तह (तृतीय श्रेणी) की शिक्षिका रुपमा कार्यरत रहेको खुलेको आयोगले जनाएको छ।

आयोगका अनुसार नक्कली प्रमाणपत्रको आधारमा उनले सरकारी सेवाबाट तलब, भत्ता तथा अन्य सुविधा प्राप्त गर्दै आएको प्रमाणित भएको हुँदा सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा पर्ने देखिएको छ।

त्यसैले आयोगले निरौलाविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आज आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि अख्तियारले सो सम्बन्धमा विस्तृत अनुसन्धान सम्पन्न गरी कानुनी कारबाहीका लागि मुद्दा दर्ता गरेको हो।