सुशासन र सुरक्षाका चुनौतीबिच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की


काठमाडाैँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

बिहीवार प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाएपछि सिंहदरबारमा आफ्ना भनाइहरु राख्दै उनले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो प्रमुख ध्येय रहने बताएका हुन्।

आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति आफू सचेत र सजग रहेको बताए । नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्ने उनले प्रतिवद्धता जनाए ।

नेपाल प्रहरीको मनोबल उच्च राख्दै, सुशासन र जनअपेक्षाअनुसारको कार्यसम्पादन गर्ने उनको भनाइ छ । उनकाअनुसार एकतर्फ प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनस्र्थापना तथा आसन्न निर्वाचनलाई दृष्टिगत गरी आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कातर्फ प्रहरीहरूको मनोबल उकास्न र जगाइराख्न पनि उत्तिकै जरुरी छ ।

हाल देशमा लागुपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका समस्या चिन्ताजनक रूपमा बढ्दो रहेको उनले जानकारी दिए । यी चुनौतीहरू समाधान गर्न प्रहरी संगठनलाई भौतिक रूपमा सुदृढ र उच्च मनोबलयुक्त बनाउनपर्ने आवश्यकता उनले औँल्याए । सूचना प्रविधिको तिब्र विकास, अपराधका प्रवृत्तिमा आएको परिवर्तन र जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमताको विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्नु प्रहरी संगठनको साझा जिम्मेवारी रहेको उनको भनाइ छ । 

उनले प्रहरीलाई पोषणको कमी रहेकोले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने पनि बताए । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाइदिएका थिए । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो ।

खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।