स्याङ्जा ।फरार अवस्थामा रहेर अदालतबाट तोकिएको सजाय भुक्तान नगरेका विभिन्न मुद्दाका अभियुक्तहरूलाई स्याङ्जामा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेशन टोलीले कात्तिक २७ गते विभिन्न स्थानहरूमा लुकिछिपी बसेका कसूरदारहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरेको हो।
प्रहरीका अनुसार सम्मानित अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी राखी फरार रहेका निम्न व्यक्तिहरू पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये मनकाजी गुरुङ, २८ वर्ष, पुतलीबजार–१२ निवासी, लागू औषधसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए। उनलाई तिर्न बाँकी रु. १,९२५ जरिवानासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, चन्द्रावली गुरुङ, ५५ वर्ष, पुतलीबजार–१२, ठगी मुद्दामा दोषी ठहर भएकी थिइन्। उनलाई तिर्न बाँकी रहेको रु.१,००० जरिवानासहित पक्राउ गरिएको प्रहरीले बतायो।
साविक पेल्काचौर–७ (हाल पुतलीबजार–१२) का मोति बहादुर गुरुङ जबरजस्ती करणी मुद्दामा ९ वर्ष ११ महिना १७ दिन कैद सजाय तोकिएकामध्ये फरार रहेका थिए। प्रहरी टोलीले उनीलाई समेत पक्राउ गरी अदालतमा बुझाएको छ।
त्यसैगरी, वालिङ नगरपालिका–८ निवासी गोमता सुवेदी, अंश दपोट मुद्दामा दोषी ठहर भई तिर्न बाँकी रु.५,६३७ जरिवानासहित पक्राउ परेकी छिन्।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाई न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले विशेष अपरेशन सञ्चालन गरिएको जनाएको छ। पक्राउ परेकालाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमार्फत सजाय भुक्तान तथा जरिवाना असुल गरिने प्रहरीले स्पष्ट पारेको छ।



प्रतिक्रिया दिनुहोस्