काठमाडाैँ । समस्याग्रस्त सहकारी संस्थाहरूका बचतकर्ता तथा ऋणीबिच आपसी सहमतिमा भइरहेको ऋण–बचत मिलान प्रक्रियामा अनियमितता देखिएको गुनासो आएपछि समितिले मिलान प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेका छ ।
केही समयअघि समितिले सार्वजनिक गरेको सूचनामा मिलानका नाममा विचौलिया तथा दलालहरूले बचतकर्ता र ऋणीसँग अतिरिक्त रकम असुल्न खोजेको उजुरी परिरहेका कारण कडाइ अपनाइएको उल्लेख गरिएको थियो। समितिका अनुसार मिलानका लागि कूल रकमको १० प्रतिशत मात्र सम्बन्धित सहकारीको तोकिएको बैंक खातामा जम्मा गर्नुपर्ने हो र त्यस बाहेक अरू कुनै व्यक्तिलाई कुनै किसिमको रकम बुझाउनुपर्ने छैन।
समितिले यस्ता अवैध मागहरू भएको खण्डमा बचतकर्तालाई सोझै समितिमा उजुरी गर्न आग्रह गर्दै, छानबिनपछि उजुरी प्रमाणित भएमा सो गैरकानूनी रकम असुल्न खोज्ने जो–कसैलाई कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने चेतावनी दिएको थियो।
यसै क्रममा, हाल समितिले ऋण–बचत मिलान प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने अर्को निर्णय सार्वजनिक गरेको छ। समितिको कार्तिक २५ गतेको बैठक निर्णयअनुसार उक्त दिनसम्म समितिमा दर्ता भएका निवेदनलाई मात्र मिलान प्रक्रियामा अघि बढाइने २६ गतेपछि दर्ता हुने सबै नयाँ मिलान कार्य अर्को सूचना जारी नहुँदासम्मका लागि रोक्का गरिएको हो।
समितिले मिलान कार्य स्थगित भएको अवधिमा दायित्व असुलउपर तथा व्यवस्थापनका वैकल्पिक उपायहरू अघि सार्न सकिने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्