काठमाडाैँ । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ फोकल युनिट स्थापना गरेको छ ।
मन्त्रालयकाअनुसार मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत रहने यो युनिटले विदेशी लगानीसँग सम्बन्धित सहजीकरण, नीति–समन्वय र सरोकारवाला निकायहरूसँगको सहकार्य सुदृढ गर्ने जिम्मेवारी पाउनेछ ।
विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्था नेपालमा लगानी प्रक्रियामा संलग्न हुँदा उठ्ने बैंकिङ, कर–राजस्व तथा प्रशासनिक समन्वयका विषयमा यो युनिटले प्रत्यक्ष भुमिका खेल्नेछ ।
विशेष गरी नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सरकारी नियामक निकायबीच आवश्यक समन्वय गरी लगानी–मैत्री वातावरण निर्माणमा युनिट सक्रिय रहनेछ ।यस पहलले नेपालमा विदेशी लगानी प्रवाहलाई सहज, पारदर्शी र द्रुत बनाउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
सहसचिव पाण्डेयले भने,”अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन, विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत एक फोकल युनिट स्थापना गरिएको छ ।”
उनकाअनुसार विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजश्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्