काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई तत्काल निकास दिन सर्वपक्षीय वार्ता आवश्यक रहेको बताएका छन्। नागरिक समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले यथास्थितिमा निर्वाचनमा जान नहुने चेतावनी दिएका हुन्।
अभियन्ता ढुंगानाले जेनजी आन्दोलनको उद्देश्य पुष्टि नगरी निर्वाचनमा जानु न्यायसंगत नभएको भन्दै तत्काल सर्वपक्षीय वार्ता गर्नुपर्ने आवश्यकता रहेकाे बताए।
उनले भने, “देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वतन्त्रतामाथि प्रश्न चिन्ह खडा हुन्छ। हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन। नेपाली जनतालाई यस अवस्थामा न्याय हुँदैन।”
उनले आन्दोलनका क्रममा सिंहदरवार, पशुपतिनाथ र न्यायालयमा आएको क्षति उदाहरण दिँदै देशको अवस्था गम्भीर रहेको औंल्याए । त्यसैले निर्वाचन अघि समाधान खोज्नु आवश्यक रहेको उनको तर्क थियो।
ढुंगानाले सबै स्टेकहोल्डरलाई एक ठाउँमा आउन र सर्वपक्षीय वार्ता गरेर देशलाई निकास दिन आग्रह गरे । “यदि यी कुरा नगरी हामी सोझै निर्वाचनमा गयौँ भने देश लामो समयसम्म स्वतन्त्र रहला भन्ने कुरा प्रश्नचिन्हमा पर्छ। युवाहरु विदेश पलायन भइरहेका छन्, दोस्रो पुस्तालाई नेपालमा अवसर दिनुपर्छ। यही कारणले अहिले निर्णय लिनु अत्यावश्यक छ,” उनले भने।
अभियन्ता ढुंगानाले युवाहरुको विदेश पलायनलाई रोक्न र देशलाई स्थिरता दिन आवश्यक कदम चालिनुपर्ने पनि जोड दिए।



प्रतिक्रिया दिनुहोस्