मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गरेको मुख्यमन्त्री यादवको आरोप


काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाएका छन् ।

आज जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको टिप्पणी गरे ।

मधेसमा दलहरू फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाई थियो ।

उनले भने,“ मधेस प्रदेशमा पनि वीरगंजमा रहेको काउन्सिलर अफिसको प्रतिनिधिहरु सिधै आएर दलहरुसँग प्रत्यक्ष सम्वादमा रहेर दलहरुलाई थ्रेट गर्ने, दलहरु फोडिदिन्छु भन्ने, दलहरू जुटाइदिन्छु भन्ने, नेताहरुलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको दिनप्रतिदिन क्षणक्षणमा सहमती हुने र सहमती भंग गर्ने वातारण सृजना भएको जानकारी गराउन चाहन्छु । ”

मुख्यमन्त्री यादवले आफूमाथि समेत सुरक्षा थ्रेट रहेको दाबी गरे । सुरक्षाकर्मीहरूले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गर्दै उनले आन्दोलनकारीहरूले आफूलाई निशाना बनाएको दाबी समेत गरे ।

उनले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दलहरूलाई आग्रह गरे ।

मुख्यमन्त्री यादवले भारतीय पक्षले दबाब दिएको कारण मधेस प्रदेशमा आन्दोलनकारीहरुसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको पनि दाबी गरे ।