काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि असोज मसान्तसम्मको पछिल्लो समीक्षाले देशमा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको देखाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन महिनाको अवधिमा विप्रेषण ३५.४ प्रतिशतले उक्लँदै ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ करोडमा पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण वृद्धि ११.९ प्रतिशतमा सीमित थियो, जसले यस वर्षको वृद्धि दरलाई झनै प्रभावशाली बनाएको छ।
असोज महिनाको तथ्याङ्कले पनि रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भएको देखाएको छ। २०८२ असोज महिनामा मात्रै विप्रेषण २ खर्ब १ अर्ब २२ करोड प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
विप्रेषण वृद्धि हुनुमा वैदेशिक रोजगारीमा जाने श्रमिकको चाप बढ्नु पनि ठूलो कारण बनेको छ। चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नयाँ नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा नयाँ स्वीकृति संख्या १ लाख १० हजार ६५४ र पुनः स्वीकृति संख्या ५९ हजार ९३९ थियो।



प्रतिक्रिया दिनुहोस्