नेपाली कफीकाे माग उच्च, उत्पादन कम हुँदा आयात बढ्दै


काठमाडाैँ । नेपालमा कफीको माग आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा उच्च रहँदा पनि उत्पादनले माग पुरा गर्न नसकेको देखिएको छ।

सहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले नेपालमा कफीको आन्तरिक बजारलाई समेत ठूलो रूपमा विस्तार गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गुणस्तरीय नेपाली कफीले विश्व बजारमा उच्च माग पाउँछ, तर पर्याप्त उत्पादन नहुँदा नेपालमै कफी आयात निरन्तर बढिरहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरे पनि १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात गर्नु परेको बोर्डले जनाएको छ। सोही अवधिमा मात्र ६४ मेट्रिक टन कफी निर्यात भई ११ करोड ४३ लाख रुपैयाँको आम्दानी भएको छ।

बोर्डका तथ्याङ्कअनुसार नेपालमा कफी उत्पादन २०७०/७१ को ४२९ मेट्रिक टनबाट २०८१/८२ मा ६४१ दशमलब ९ मेट्रिक टन पुगेको छ। तर यसैबिच कफी आयात अझै तीव्र गतिमा बढ्दै गएको देखिन्छ। २०८१/८२ मा कफी आयात २३४ मेट्रिक टन पुगेको थियो र यसको मूल्य १४४ करोड रुपैयाँ नाघेको थियो। निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९९८ किलोमा सीमित भएको छ।

बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेका अनुसार आन्तरिक माग तीव्र रूपमा बढिरहेको बेला किसान संरक्षण, उत्पादन वृद्धि र कफी क्षेत्र विस्तारमा तीनै तहको सरकारबीच समन्वय आवश्यक छ।

नेपाली कफीले स्वाद र गुणस्तरको आधारमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य प्राप्त गर्दै आएको छ। आन्तरिक माग बढ्दै गएपछि देशभित्रै उत्पादन वृद्धि र रोपणमा ध्यान दिनु जरुरी रहेको उनले बताए। साथै आयातित कफीको नियमनमा पनि विशेष ध्यान दिनुपर्ने उनले जोड दिए।

बोर्डले कफी उत्पादन वृद्धि गर्न सम्भावित प्रदेशमा चक्लाबन्दीमार्फत क्षेत्र विस्तार, डेमोन्स्ट्रेसन प्लट स्थापना, व्यवसायिक नर्सरी र अनुसन्धान प्रवर्द्धनका कार्यक्रम अघि बढाइरहेको जनाएको छ। युवा लक्षित स्टार्टअप कार्यक्रम सञ्चालन गर्दै कफी स्टेट विकास र व्यवसायिक उत्पादनलाई प्राथमिकता दिइने योजना पनि बोर्डले सार्वजनिक गरेको छ।

साथै, बोर्डले आगामी वर्षहरूमा कफी मूल्य शृङ्खलाका सबै तहको भुमिका स्पष्ट हुने गरी ऐन तथा नीतिको संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

२०८२ मंसिर १ देखि लागू हुनेगरी कच्चा कफीको न्यूनतम मूल्य गत वर्षकै दर कायम गरिएको छ। फ्रेस चेरी कफीको ग्रेड ए प्रति केजी १०५ रुपैयाँ र ग्रेड बी ९५ रुपैयाँ, पार्चमेन्ट कफीको ग्रेड ए प्रति केजी ५३५ रुपैयाँ र ग्रेड बी ४८२ रुपैयाँ, ड्राइ चेरी कफीको ग्रेड ए प्रति केजी २८० रुपैयाँ र ग्रेड बी २४७ रुपैयाँ तोकिएको छ।

बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित भाेलि २१ औँ राष्ट्रिय कफी दिवस कीर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा किसान, स्टेट, उद्योग तथा उपभोक्ताको सहभागितामा मनाउने तयारी गरेको छ।