११ वर्षमा कति रुपैयाँले बढ्यो कफीको मूल्य ?


काठमाडाैँ । नेपालमा कफी उत्पादन गर्ने किसान र व्यापारीको हित सुनिश्चित गर्न कफी बोर्डले विगत ११ वर्ष (२०७२-०८२) देखि न्यूनतम सहमत मूल्य निर्धारण गर्दै आएको छ। बोर्डका अनुसार फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी कफीका विभिन्न ग्रेडको मूल्य क्रमिक रूपमा बढ्दै आएको छ।

२०७२ मा फ्रेस चेरी कफीको ग्रेड ए मूल्य ८० रुपैयाँ प्रति केजीबाट सुरू भएको थियो र २०८२ मा १०५ रुपैयाँ पुगेको छ। ग्रेड बी को मूल्य भने ७५ रुपैयाँबाट ९५ रुपैयाँमा पुगेको छ। पार्चमेन्ट कफीमा ग्रेड ए को मूल्य ४०० रुपैयाँबाट ५३५ रुपैयाँ, ग्रेड बी ३७५ रुपैयाँबाट ४८२ रुपैयाँ प्रति केजीमा वृद्धि भएको छ। ड्राइ चेरी कफीमा ग्रेड ए मूल्य १४० रुपैयाँबाट २४७ रुपैयाँ र ग्रेड बी मूल्य १०० रुपैयाँबाट २४७ रुपैयाँ पुगेको छ।

कफी बोर्डले ग्रेड निर्धारणका लागि स्पष्ट मापदण्ड बनाएको छ। फ्रेस चेरी कफीको ग्रेड ए ८०० मिटरभन्दा माथि उचाईमा उत्पादन भएको, प्राङ्गारिक पद्धतिमा उत्पादन गरिएको, पूर्णरूपले पाकेको, पानीमा राख्दा डुब्ने र छानेर छानिएको चेरीबाट मानिनेछ। ग्रेड बी भने ग्रेड ए मा नपरेका अन्य कफीलाई मानिनेछ।

पार्चमेन्ट कफीमा ग्रेड ए ११ प्रतिशत चिस्यान भएको, पानीमा डुब्ने गुण भएको फ्रेश चेरीबाट उत्पादन भएको कफीलाई मानिनेछ। ग्रेड बी गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलाई मानिनेछ। ड्राइ चेरी कफीमा पनि ग्रेड ए उच्च गुणस्तरको फ्रेस चेरीबाट, ग्रेड बी ग्रेड बी चेरीबाट उत्पादन भएको ड्राइ चेरी कफीलाई मानिनेछ।

२०८२ मंसिर १ गतेदेखि लागू हुने नयाँ न्यूनतम मूल्यअनुसार, फ्रेश चेरी ग्रेड ए १०५ रुपैयाँ र ग्रेड बी ९५ रुपैयाँ प्रति केजी, पार्चमेन्ट ग्रेड ए ५३५ रुपैयाँ र ग्रेड बी ४८२ रुपैयाँ प्रति केजी, ड्राइ चेरी ग्रेड ए २८० रुपैयाँ र ग्रेड बी २४७ रुपैयाँ प्रति केजी कायम गरिएको छ।

कफी बोर्डका अनुसार विगत ११ वर्षको मूल्य वृद्धिले नेपाली कफीको गुणस्तर कायम राख्न, किसानलाई न्यूनतम मूल्य सुनिश्चित गर्न र बजार स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ।

हेर्नुहाेस् ११ वर्षकाे मूल्य: