पाशुपत क्षेत्रभित्र मदिरा, मासु र नशालु पदार्थमा तीन दिनका लागि पूर्ण प्रतिबन्ध


काठमाडौँ । आगामी बालाचतुर्दशी पर्व (शतविजारोपण पर्व २०८२) सुरक्षित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने उद्देश्यले काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पाशुपत क्षेत्रभित्र तीन दिनका लागि मदिरा, मासु तथा सबै प्रकारका नशालु पदार्थको उत्पादन, बिक्री–वितरण, ओसार–पसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सार्वजनिक गरेको सूचनामा मंसिर १ गतेदेखि ३ गतेसम्मका लागि प्रतिबन्ध लागू हुने उल्लेख छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम लागू गरिएको यो प्रतिबन्धले पवित्र पाशुपत क्षेत्रभित्र धार्मिक, सांस्कृतिक मर्यादा र क्षेत्रको पवित्रता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रशासनको विश्वास छ।

कार्यालयले पाशुपत क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै सिमानाहरू पनि स्पष्ट रूपमा निर्धारण गरेको छ। पूर्वतर्फ तिलगंगा र गुहेश्वरीसम्म, पश्चिमतर्फ गौशाला, मित्रपार्क र चक्रपथ सडकसम्म, उत्तरतर्फ मित्रपार्क, उमाकुण्ड, गौरीघाट र गुहेश्वरी सडकसम्म तथा दक्षिणतर्फ गौशाला, तिलगंगा र चक्रपथ सडकसम्मको क्षेत्रलाई प्रतिबन्धित क्षेत्रका रूपमा घोषणा गरिएको हो।