कर नीति समय सापेक्ष बनाउन जरुरी छः अध्यक्ष अग्रवाल


काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन माग गरेका छन् । 

सोमवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको र उपभोक्ताहरूको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरूको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरूले करका दरहरु घटाउँदै गइरहेको बताएका हुन् ।

कतिपय देशहरूले लगानी आकर्षित गर्न आयकर कम गर्ने नीति अवलम्वन गरिरहेको भन्दै नेपालले पनि यसबारे सोच्न जरुरी रहेको बताए। प्रतिष्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे।

भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक भएको पनि बताए । नेपालमा उत्पादित हुने सबै वस्तुहरूमा अन्तःशुल्क घटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको बताए ।

अध्यक्ष अग्रवालले आयकर ऐनको पुनः लेखन गर्नुपर्ने माग गरे । उनले डिजिटल बिजनेसको अन्योलता हटाउन जरुरी रहेको बताए ।उनले संघ र स्थानीय तहको आफ्नो आफ्नो कानूनी व्याख्याका कारण घर बहाल करमा दाहोरो मार परेको बताए । राजश्वको लक्ष्य पु¥याउने दबाबमा भएका कर निर्धारण आदेशहरूले आन्तरिक राजश्व विभागमा ठूलो वक्यौता रकम देखिएको र अर्कोतर्फ उद्यमी व्यवसायीहरू अनावश्यक कानूनी झन्झटमा परेको बताए ।