निजी क्षेत्र सङ्कटका बाबजुत पनि पुनः उठ्ने मनोबल राख्नु सकारात्मक हाेः मन्त्री खनाल


काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र सङ्कटका बाबजुत पनि पुनः उठ्ने मनोबल राख्नु सकारात्मक रहेको बताएका छन् ।

कर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै खनालले आउँदो दिनमा निजी क्षेत्रको सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले राजस्व प्रणालीमा गरिएको योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माण गर्न सकिने बताए ।

आम नागरिकको विकास चाहना पूरा गर्नसके समाजमा आफैँ शान्ति कायम हुने बताए । उनकाअनुसार समाजमा कसैले आफू पाखा पारिएको छु भन्ने महसुस हुन दिनु हुँदैन । राज्यले सामाजिक सुरक्षासहित विकासमा पहुँच र आर्थिक अवसर उपलब्ध गराएको छ भन्ने धारणा निर्माण हुनुपर्छ । नागरिकले यस्तो अनुभुति गर्न पाए मात्र सरकार वा निजी क्षेत्रप्रति विद्रोह उत्पन्न हुनेछैन ।

उनकाअनुसार असन्तुष्टि पोखिदाँ जेनजी आन्दोलन भएको हो । विभिन्न असन्तुष्टि राजनीतिक क्षेत्रदेखि समाजसम्म अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र रोजगारीको अभाव तथा पलायनको पीडाले मानिस विद्रोही बन्दै गएको उनको भनाइ छ ।

उनकाअनुसार समाजमा कहिलेकाहीँ मानिसहरू बरालिन सक्छन् वा विभिन्न कारणले विद्रोहमा उत्रन सक्छन्, त्यसका लागि सुरक्षा आवश्यक हुन्छ । तर दीर्घकालीन शान्ति र व्यवसायिक वातावरणका लागि सदाचार, अनुशासन र सुशासन अत्यावश्यक भएको उनको भनाइ छ ।