मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द


काठमाडाैँ । मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ कार्य गर्नुपर्ने भएकाले दैनिक चार घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। यसअघि सूचना जारी गर्दै आयोजनाले मंगलबारदेखि मंसिर ११ गतेसम्म सडक बन्द रहने जनाएको हो।

सडक बन्द रहने अवधिमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म तथा दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी संचालन पूर्ण वा आंशिक रूपमा रोक लगाइनेछ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन दुई लेनको प्रि–स्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भइरहेको र काम अत्यन्त संवेदनशील भएकाले राति कार्य संभव नभएकाले दिउँसो यातायात रोक्नुपर्ने बाध्यता रहेको आयोजनाले जनाएको छ।

यात्रुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक मार्ग पनि तोकिएको छ। दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजार–बेलचौतारा–चाउथे मार्ग प्रयोग गर्न सकिनेछ। त्यस्तै, ठूला तथा मालबाहक सवारीका लागि पावरहाउसचोक–भौमारा–बिरौटा मार्ग वैकल्पिक रुटका रूपमा निर्धारण गरिएको छ।

आयोजनाले तोकिएको समयमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग आवश्यक सहयोग र समन्वय प्रदान गर्न समेत अनुरोध गरेको छ।