नेपालले यस वर्षपनि प्राप्त गर्‍यो ‘डबल बी माइनस’ क्रेडिट रेटिङ


काठमाडाैँ । नेपालले सन् २०२५ का लागि अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ ‘डबल बी माइनस’ प्राप्त गरेको छ। गत वर्ष पनि नेपालले यही रेटिङ पाएको थियो।

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेय अनुसार पछिल्ला महिनामा देखिएका सामाजिक-राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बाबजुद पनि नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमता र समष्टिगत आर्थिक स्थायित्व स्थिर रहेको पुष्टि भएको छ।

अर्थ मन्त्रालयका अनुसार चुनाव-केन्द्रित खर्च र अनिश्चितताकाबिच सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, खर्च प्राथमिकता निर्धारण र रणनीतिक परियोजनाहरू अवरोधविनै निरन्तरता दिने नीति अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वास मजबुत बनाएको छ।

यस रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको सङ्केत दिएको छ। साथै, वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा सार्वभौम ऋण जारी गर्दा नेपालले स्थिर क्रेडिट प्रोफाइल कायम राख्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। विशेष गरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व महत्वपूर्ण मानिन्छ।

अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले अन्तर्राष्ट्रिय साझेदार, वैदेशिक लगानीकर्ता, निजी क्षेत्र र आम नागरिकलाई नेपाल सरकारप्रति देखाएको विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना र सामाजिक-आर्थिक रुपान्तरणका लक्ष्य प्रति सरकार प्रतिबद्ध रहेको बताए।