गरिमा विकास बैंकले ‘गरिमा रोड रेस, २०८२’ आयोजना गर्ने, एक हजार धावक सहभागी हुने अपेक्षा


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित मंसिर ६ गते (शनिबार) गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको छ।

बैंकले गत वर्षदेखि सुरू गरेको यो रोड रेस प्रतियोगिता यस वर्ष अझ व्यापक रूपमा आयोजना गर्ने जनाएकाे छ । प्रतियोगिता खुला तर्फ (महिला तथा पुरुष) १० किलोमिटर, कर्पोरेट तर्फ (महिला तथा पुरुष) ५ किलोमिटर र भेट्रान तर्फ (महिला तथा पुरुष) ५ किलोमिटर दूरीमा हुने बैंकले जनाएकाे छ । गत वर्ष खुला र कर्पोरेट विधामा मात्र प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिला (४५ वर्षमाथि) र पुरुष (५० वर्षमाथि) प्रतियोगीलाई समेट्दै भेट्रान विधा थप गरिएको छ।

बैंकका अनुसार प्रतियोगितामा करिब १ हजार जना सहभागी हुने अपेक्षा गरिएको छ। खुला तर्फको विजेताले रु. ५० हजार र कर्पोरेट तथा भेट्रान तर्फ विजेताले रु. ३० हजार नगद पुरस्कार पाउनेछन्। खुला तर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका धावकले क्रमशः रु. ३५ हजार, २० हजार , १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन्। कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थानले रु. २०,०००, तेस्रोले रु. १४,०००, चौथोले रु. १०,००० र पाँचौले रु. ७,००० प्राप्त गर्ने बैंकले जनाएकाे छ ।

प्रतियोगिता बालुवाटार, काठमाडौँस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय भवन परिसरबाट सुरू भएर खुला तर्फको दौड बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालय भवनसम्म पुगेर पुनः सोही बाटो हुँदै बालुवाटारमा समापन हुनेछ। कर्पोरेट र भेट्रान तर्फको दौड पनि सोही स्थानबाट सुरु भएर बाँसबारी स्थित न्युरो अस्पताल पुग्ने र पुनः सोही बाटो हुँदै बालुवाटारमा समापन हुनेछ।

प्रतियोगिता व्यवस्थित गर्न बैंकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु. २० शुल्क तिरी रजिस्ट्रेसन गर्न सक्नेछन्। थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ।

गत वर्षको गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेको थियो। यस वर्ष समेत बैंकले प्रतियोगीहरूको उल्लेख्य सहभागिता हुने विश्वास लिएको छ।