उद्योग महासंघद्वारा उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरेका हुन् ।

भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा विभागको परिसरमा आगजनी हुँदा कम्प्युटर र अन्य सामग्री जलेर नष्ट भएको थियो। यसअघि उद्योग विभागको अनुरोधमा महासंघले सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएको हो।

हस्तान्तरणको अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने विश्वास व्यक्त गरे । उनले भने, “महासंघले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य आवश्यक ठान्दछ। यस सहकार्यमार्फत संस्थागत क्षमतामा योगदान पुग्ने हाम्रो विश्वास छ।”

उद्योग विभागका महानिर्देशक ज्ञवालीले आन्दोलनका क्रममा विभागको भौतिक सामग्रीमा ठूलो क्षति पुगेको उल्लेख गर्दै, तत्काल सहयोग उपलब्ध गराएकोमा महासंघप्रति आभार व्यक्त गरे। उनले यस सहयोगले विभागको दैनिक सेवा सञ्चालनलाई सहज बनाउने पनि बताए ।