काठमाडाैँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा सरकारको उच्च प्राथमिकता भएको बताएकी छन् ।
बुधबार सिंहदरबारमा विभिन्न राजनीतिक दलसँग छलफल गर्दै उनले हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “जो कुनै राजनीतिक विवाद वा अराजकता भए पनि त्यसलाई नियन्त्रण गर्दै सबै नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सुनिश्चित गरिनेछ। जोखिम व्यवस्थापनका लागि संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन बढाइएको छ। हिमाली जिल्लाका बन्दोबस्तीसहित निर्वाचन व्यवस्थापनका सबै समस्या आयोगसँग समन्वय गरेर समाधान खोज्ने प्रक्रिया अघि बढाइएको छ।”
उनले थपिन्, “तरल र अनिश्चयपूर्ण वातावरणको फाइदा उठाउन भड्काउयुक्त गतिविधिमा लागेका समूह वा भागेका कैदीबन्दीहरूले सिर्जना गर्नसक्ने कुनै पनि उपद्रवलाई कानूनी रूपमा नियन्त्रण गर्ने अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ। राजनीतिक हिंसा र टकराव रोक्न हामी सबै पक्षसँग संवाद र वार्ताको पहल पनि गरिरहेका छौँ।”
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार लोकतान्त्रिक निकास सुनिश्चित गर्न बनेको एक पुल भएको उल्लेख गर्दै सबै राजनीतिक दलसँग सहकार्यमा निर्वाचन व्यवस्थापन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।



प्रतिक्रिया दिनुहोस्