काठमाडाैँ । नेपालमा पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका दक्ष जनशक्ति उत्पादन गर्न थालिएको छ । फरक क्षमता भएका व्यक्तिहरुलाई नेपालमा भित्र्याउनको लागि नेपाल पर्यटन बोर्डले सोहीअनुसारको दक्ष जनशक्ति तयार पार्न लागेको हो ।
महिला गाइड तथा ह्वीलचियर पदमार्ग निर्माण लगायतको कार्य गरेको बोर्डले पछिल्लो समय बहिरा गाइड उत्पादन गर्न तालिम सञ्चालन गरेको छ । बोर्डको सहकार्यमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) ले नेपालमा पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो ।
नाथमले दिगो पर्यटन परियोजनाअन्तर्गत सस्टेनेबल टुरिजम डेभलपमेण्ट प्रोजेक्ट (एसटीपी), राष्ट्रिय बहिरा महासंघ नेपाल र बोर्डको सहकार्यमा कात्तिक १८ गतेबाट तालिम सञ्चालन गरिरहेको छ । तालिममा देशका सात वटै प्रदेशबाट २५ जना सहभागी छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले विश्वमा करिब ४० करोड भन्दा बढी पर्यटकहरुको श्रवण शक्ति नरहेको बताए । ती पर्यटकहरुलाई नेपालमा भित्र्याउनको लागि भाषा, पहुँच र सहयोगसम्बन्धी समस्या हुने भएकोले बहिरा व्यक्तिहरुलाई नै तालिम दिइएको उनको भनाइ छ ।
नेपाललाई सहज पर्यटक गन्तव्यका रुपमा स्थापित गर्न यस किसिमका विशेष गाइड तयार गर्नुपर्ने आवश्यकता भएको उनले बताए । उनले फरक क्षमता भएका पर्यटकका लागि विशिष्ट सेवा दिने गाइड नहुँदा उनीहरूमा नेपाल आउँदा आत्मविश्वास कम देखिने गरेको र यो तालिमले त्यसमा ठूलो सहयोग पु¥याउने उल्लेख गरे ।
उनले भने, “नेपाल चाँही सबैका लागि एक्सेसिवल टुरिजम डेष्टिनेसन हो भन्ने सन्देश पनि प्रचारित हुने हुँँदा हामीले यो कार्यक्रम शुरु गरेका हौँ । हामीलाई आशा छ, उनीहरु नेपालमा आउँदाखेरी चाहीँ हामीलाई छुट्टै सेवा दिने गाईडहरु छैनन्, त्यसैले हामी नेपाल नजाने हो की भन्ने जुन भिजिटर्समा कन्फिडेन्स हुँदैन, त्यो कन्फिडेन्स बढाउनको लागि पनि यो कार्यक्रमले सहयोगी भुमिका खेल्छ ।”
सिइओ जोशीले तलिमप्राप्त बहिरा गाईडहरुको रोजगारीका लागि ट्राभल एजेन्ट, टुर ट्राभल्सहरुसँग समन्वय गर्ने जानकारी दिए । साथै विमानस्थल, विभिन्न देशका राजदुतावास, सूचना केन्द्रहरुमा उनीहरुको सम्पर्क नम्बरसहित जानकारी उपलब्ध गराइने बताए ।
अहिले एकखालको पर्यटकलाई मात्र सेवा सुविधा दिने प्रचलन बढेकोले समावेशी पर्यटनलाई पनि प्रवद्र्धन गर्न यो तालिमको आयोजना गरेको उनकाे भनाइ छ । बोर्डले ह्वीलचियर युज गरेर हिँड्ने पर्यटकहरुको लागि हाल केही ट्रेकिङ ट्रेलहरु निर्माण गरेर नेपालको एकदम राम्रो सुन्दर छवि प्रचारित गरिएको पनि उनले बताए । उनले बोर्डको मुख्य उद्देश्य नै सबै प्रकारका पर्यटकहरु नेपाल भित्र्याउनु र फरक क्षमता भएका व्यक्तिहरुले पनि पर्यटनसँग जोडिएर रोजगार पाउन भन्ने रहको जानकारी दिए ।
उनले भने, “अहिले जहाँसुकै एकखालको पर्यटकलाई मात्र सेवा सुविधा दिने प्रचलन छ । अलि अगाडीसम्म हामीले हे¥यौँ भने ह्वीलचियर युज गरेर हिँड्ने पर्यटकहरुको लागि हामीकहाँ समस्या थियो, अहिले पनि छ । तर पहिला अझ बढी थियो । हामीले केही ट्रेकिङ ट्रेलहरु एक्सेसवल ट्रेल निर्माण ग¥यौँ, यसले नेपालको एकदम राम्रो सुन्दर छवि प्रचारित भयो । साथै कतिपय होटलहरुले उहाँलाई छुट्टै रुम, ट्वाईलेट, वाथरुमको आवश्यकता हुन्छ, त्यो पनि बनाउन थाल्नुभएको छ । कतिपय हाम्रा सम्पदा क्षेत्रहरुमा, गन्तव्यहरुमा ह्वीलचियर लिएर हिँड्न मिल्ने थिएन, अहिले त्यो चाहीँ बढ्दै गएको छ । थुप्रै नगरपालिका, पालिकाहरुले पनि पूर्वाधार निर्माण गर्दाखेरि यो पक्षलाई ध्यान दिन थाल्नुभएको छ । यसमा अब मुख्यतः हाम्रो आईडिया के हो त भन्दाखेरी एउटा नयाँ सेग्मेन्ट अफ टुरिजम हामीले नेपालमा ल्याउन सकौँ र फरक क्षमता भएका नेपालीहरुले पनि पर्यटनसँग जोडिएर केही लाभ लिन सक्नुहोस् भन्ने विचारले यो कार्यक्रम शुरु गरेका हौँ ।”
उनले यस्ता तालिमहरु आवश्यकताका आधारमा आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताए । महिलाहरुको लागि पनि छुट्टै महिला गाईड नै उत्पादन गरिएको जानकारी दिँदै बहिराहरूको लागि पनि मागको आधारमा जनशक्ति तयार गर्ने उनकाे भनाइ छ । साथै तालिम लिएकाहरुलाई आगामी दिनमा एड्भान्स लेवल पनि दिने जानकारी दिए ।
नाथमका प्रिन्सिपल अजयकुमार ढकालले नेपालकै पर्यटन इतिहासमा बहिरा समुदायका लागि ट्रेकिङ गाइड तालिम पहिलोपटक गरिएको बताए । देशभरिबाट आएका ५०–६० बढी आवेदकमध्ये २५ जना छनोट गरी तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए । राष्ट्रिय बहिरा महासंघ, नेपालले छनौट गरेर पठाएको उनको भनाइ छ । देश विदेशका धेरै बहिरा पर्यटकहरू नेपाल घुम्न आउने गरेको तथ्यलाई ध्यानमा राखेर यो तालिम शुरु गरिएको हो । उनले बिहान ७ बजेदेखि साढे १० बजेसम्म तालिम दिइरहेको बताए ।
उनले भने, “उहाँहरूको एउटा आफ्नै संसार छ । उहाँहरूको एउटा आफ्नै गतिविधि र नेटवर्किङमा हुने रहेछ । त्यो कुरा पनि हामीले थाहा पायौं । हामी एकदम उत्साहित भयौं र यो चुनौतिका बावजुद सहकार्य गरेर यो तालिम सञ्चालन गरेका हौँ । त्यसमध्ये केही बहिरा साथीहरूले आफ्नै हिसाबले पनि एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्पतिर ट्रेकिङ गरिराख्नुभएको रहेछ । त्यसले हामीलाई थप ऊर्जा दियो । हामी झनै उत्साहित भयौं र गरौं भन्ने हिसाबले एउटा एमओयू गरेर, त्रिपक्षीय एमओयू गरेर हामीले यो तालिम सञ्चालन ग¥यौँ ।”
उनले सहभागीहरु उत्साहित भएर तालिम लिइरहेको जानकारी दिए । नाथमबाट तालिम लिएर गएपछि तत्काल रोजगारीको लागि योग्य हुने उनकाे भनाइ छ । विदेशी पाहुनालाई नेपालका डाँडाकाँडामा, गाउँघरमा लगेर ट्रेकिङ गराउने र त्यहाँका ग्रामीण, सांस्कृतिक, धार्मिक, प्राकृतिक कुराहरू बताएर एउटा नेपाल चिनाउने काम उनीहरूले गर्ने उनको विश्वास छ ।
उनले आगामी दिनमा नाथमले यस्ता किसिमका तालिमलाई विशेष जोड दिने जानकारी दिए । यो तालिम नेपालकै पर्यटन क्षेत्रको इतिहासमा राम्रो, नौलो र एउटा प्रभावकारी तालिम हुने उनको दाबी छ । तालिम पश्चात उनीहरुको रोजगारीको लागि पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गरेर सहजीकरण गर्ने पनि उनले जानकारी दिए ।
उनले भने, “सहभागीहरूले अहिलेसम्म राम्रो बुझेको, पठनपाठनमा कुनै बाधा नभएको, सहज तरिकाले गएको भनेर उहाँहरू पनि उत्साहित हुनुहुन्छ । यो चाहीँ पाँच हप्ते तालिम हो । लगभग हामीले आधाको छेउछाउमा आइपुगेका छौं । हामी प्रयोगात्मकको लागि काठमाडौं भ्यालीको छेउछाउमा एक अथवा दुई रातको स्टे गराएर उहाँहरूलाई क्याम्पीङ, रक क्लाइम्बिङ लगायतका कार्यहरू पनि सिकाउँछौं । लाइसेन्स प्राप्त गरिसक्नु भएपछि उहाँहरूले विदेशबाट विशेष गरी बहिरा कम्युनिटीकै गेस्टहरू नेपालमा आउँदा नेपाललाई चिनाउने, नेपालका डाँडाकाँडामा, गाउँघरमा लगेर ट्रेकिङ गराउने र त्यहाँका ग्रामीण, सांस्कृतिक, धार्मिक, प्राकृतिक कुराहरू बताएर एउटा नेपाल चिनाउने काम गर्नुहुनेछ । उहाँहरूले यो क्षेत्रमा एउटा चाख देखाउनुभएको छ । यो एउटा उदाहरणीय हो । हामीले यस्ता किसिमका तालिमलाई विशेष जोड दिने भन्ने एउटा सोच बनाएका छौं । यो तालिम जहाँसम्म लाग्छ एउटा हाम्रो नेपालकै पर्यटन क्षेत्रको इतिहासमा एउटा राम्रो, नौलो र एउटा प्रभावकारी तालिम हुनेछ ।”
करिव १० लाख रुपैयाँ अनुमानित लागतमा सञ्चालन भइरहेको यो तालिम पाँच हप्ता चल्ने उनले जानकारी दिए । तालिममा सहभागीहरूलाई खाजा, खाना, प्रशिक्षक शुल्क, फील्ड भिजिट तथा यातायातका सबै खर्च परियोजनाले व्यहोर्ने व्यवस्था छ । तालिम प्रत्येक दिन बिहान ७ बजेदेखि साढे १० बजेसम्म सञ्चालन भइरहेको उनले बताए ।
३० वर्षदेखि नाथममा सेवारत पर्यटन तालिम संयोजक रतनबहादुर साउदले पाँच हप्ते तालिममा चार हप्ता सैद्धान्तिक र एक हप्ता व्यावहारिक कक्षाहरू राखिएको जानकारी दिए । उनकाअनुसार सैद्धान्तिक कक्षामा ट्रेकिङ, फस्र्ट एड, भूगोल, वातावरण, संस्कृति–धर्म, कोड अफ कन्डक्ट, गाइडिङ टेक्निकलगायत १७–१८ विषय समावेश छन् । व्यावहारिक कक्षामा क्याम्प व्यवस्थापन, हाइकिङ, क्याम्पिंग, रक क्लाइम्बिङ, पर्यावरण संरक्षण तथा आतिथ्य व्यवस्थापन सिकाइने उनले जानकारी दिए ।
उनले प्रत्येक कक्षामा सांकेतिक भाषाको लागि दोभाषेको व्यवस्था गरिएको जानकारी दिए । प्रशिक्षकहरूले भिजुअल, लेखन सामग्री, चित्र तथा सांकेतिक भाषाको सहायताले तालिम दिईरहेको उनले बताए । प्रशिक्षकबाट प्रशिक्षण गराएको कुराहरु दोभाषेको माध्यामबाट प्रशिक्षार्थीसम्म पु¥याउने गरेको उनको भनाइ छ । तालिममा २० वर्षदेखि ५५ वर्षसम्मका ४ महिला र २१ पुरुष सहभागी रहेका छन् । नाथमले हालसम्म करिव २२ हजार ट्रेकिङ गाइड उत्पादन गरिसकेको छ । उनकाअनुसार पहिलोपटक बहिरा समुदायका २५ जना थपिँदैछन्, जुन पर्यटन क्षेत्रमा समावेशीकरणको नयाँ मोड हो ।



प्रतिक्रिया दिनुहोस्