सिरहा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।
स्थलगत अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीसमेत थिए ।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्यभएको जस्ता गुनासो आएपछि मन्त्री घिसिङ र गुप्तासहितको टोलीले पुल निर्माणको अनुगमन गरेको हो ।
तराई/मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता सम्झौता भएको थियो ।
सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मंसिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौं पठक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो ।
निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ ।
पुल निर्माणमा भईरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले यो पुल समग्र मधेश क्षेत्रको विकासको लागि अत्यन्तै महत्वपूर्ण रहेकोले तिब्र गतिमा निर्माण कार्य अगाडी बढाईने प्रतिबद्धता जनाए ।
उनले भने,“यो पुल बन्छ, हामी बनाउँछौ भन्दै विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानविन गरिरहेको छ र दोषी देखिएकालाई कानुन बमोजिम कारबाहीसमेत गछौँ ।” पुल निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने स्थानीयहरूले माग थियो ।
पुल निर्माणका लागि हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमश ८३ र ८२ प्रतिशत रहेको छ । १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर रहेको छ ।
निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मि. पहुँच सडक निर्माण गर्नु पर्ने छ ।
१७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो ।
क्षति पुगेका स्लावमध्ये २ वटा हटाइएको छ भने २ वटा हटाउन बाँकी रहेका छन् । विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तथा डओइ तयार गरी स्वीकृत गरिएको छ ।
४ वटा स्लावमध्ये सिरहापटिको २ वटा हटाउने तथा एउटाको पायरको पायल क्याप र अर्कोको पायरको २ मिटर स्टिम ढलान भई बाँकी २ वटा स्पानलाई दह्रो बनाउने काम बाँकी रहेको छ ।
स्वीकृत परिमार्जित डिजाइन बमोजिम पुल निर्माण तथा पुनस्र्थापना आगामी असारभित्र सम्पन्न गरी यातायाता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्