निर्वाचनलाई सफल बनाउनलाई सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।

शुक्रवार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उहाँले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको पनि बताए ।उनले सो निर्वाचन परिणामले मुलुकको सुशासन,विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ शिक्षण ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याए ।उनले सो क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुशी व्यक्त गरे ।