काठमाडौँमा खाद्य अनुगमनः विद्यालय क्यान्टिनदेखि पानी उद्योगसम्म अनियमितता,नागढुंगाबाट भित्रिएका तरकारी–दूध भने सुरक्षित


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसालै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनमा विद्यालय क्यान्टिन, खानेपानी उद्योग र नाकाबाट भित्रिने तरकारी–फलफुल तथा दूधमा विभिन्न अनियमितता भेटिएको छ।

विभागले छुट्टाछुट्टै मितिमा गरिएको अनुगमनको विस्तृत विवरण सार्वजनिक गर्दै उपभोक्ता स्वास्थ्य सुरक्षाका लागि कडाइसँग निगरानी जारी राखिने जनाएको छ।

मंसिर ४ गते बुढानिलकण्ठ–५ स्थित बुढानिलकण्ठ स्कुलको क्यान्टिनमा गरिएको अनुगमनमा कृतिम रङका लेबलरहित डब्बादेखि पकाएर खाने परिकारमा रङको प्रयोगसमेत भेटिएको विभागले जनाएको छ।

किचन नजिकै शौचालयको ढोका खुल्ने गरी राखिएको, डस्टबिनको सरसफाइ कमजोर देखिएको, तयारी खाना नछोपेर खुला राखिएको तथा म्याद नाघिसकेको ७५ ग्रामका ३९ थान बिस्कुट पनि फेला परेको विभागको टोलीले पत्ता लगायो। फेला परेका म्याद नाघेका खाद्य सामग्री तथा लेबलरहित कृतिम रङ तत्काल नष्ट गरिएका छन्।

यस्तै, क्यान्टिनलाई सरसफाइ सुधार्ने, भाँडा धुने स्थान र खाना पकाउने कक्ष छुट्याउने, बफेट सिस्टममा तापक्रम नियन्त्रणको व्यवस्था मिलाउने तथा कामदारको व्यक्तिगत सरसफाइ कडाइका साथ अपनाउन निर्देशन दिइएको छ।

यसै क्रममा, मंसिर १ मा वाणिज्य विभागसँग सहकार्यमा काठमाडौँका खानेपानी उद्योगहरूमा गरिएको अनुगमनमा दुई कम्पनीमा कमजोरी भेटिएका छन्। टोखा–६ स्थित सिटी मिनेरल वाटर एण्ड बेभरेज प्रालिमा सरसफाइ अवस्था सामान्य देखिए पनि टायल फुटेको भाग मर्मत गर्नुपर्ने, अन्य उद्योगका लागि पानी भर्ने सेवासम्बन्धी कागजात अद्यावधिक गर्नुपर्ने तथा अनुमतिपत्रमा अतिरिक्त बोतल साइज समावेश गर्नुपर्ने विभागले जनाएको छ।

यस्तै, ग्राण्ड खानेपानी सेवा प्रालिमा UV लाइट नबालिकनै जार फिलिङ गरिएको, बिग्रिएका जार प्रयोग भएको तथा व्यक्तिगत सरसफाइ कमजोर देखिएपछि सुधारका निर्देशन दिइएको छ। उद्योगबाट पानीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।

यसबाहेक मंसिर ४ गते राति ११ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म नागढुंगा नाकामा गरिएको अनुगमनमा १७ वटा सवारीसाधनमा रहेका २० वटा तरकारी तथा फलफुलको नमुना मोबाइल खाद्य प्रयोगशालामा परीक्षण गर्दा सबै नमुना जीवनाशक विषादी अवशेषका हिसाबले सुरक्षित पाइएको विभागले जानकारी दिएको छ।

नुवाकोटबाट काठमाडौं भित्रिएको कच्चा दूधको नमुना न्यूट्रलाइजर परीक्षणमा पनि अनुकूल परिणाम आएको छ। यी वस्तुहरू कालिमाटी र बल्खु तरकारी बजारमा बिक्री वितरण गरिने भएकाले अनुगमनलाई महत्वपूर्ण आधार मानिएको विभागका अधिकारीहरूको भनाइ छ।

विभागले उपभोक्ताको स्वास्थ्यलाई मुख्य प्राथमिकता राख्दै विद्यालयदेखि उद्योग र नाकासम्म नियमित तथा आकस्मिक अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।