एनपीएल: ओटीटी प्रसारण अधिकार डिसहोममा, अनधिकृत प्रसारणमा गरे कारबाहीकाे चेतावनी


काठमाडौँ । नेपाल क्रिकेट संघ र डिस मिडिया नेटवर्क लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को ओटीटी प्रसारण अधिकारसम्बन्धी संयुक्त सार्वजनिक सूचना जारी गरेका छन्। मंसिर १ गतेदेखि सुरू भएको लिगका खेलहरू डिजिटल माध्यमबाट कहाँ–कसरी हेर्न सकिन्छ भन्नेबारे दुवै संस्थाले औपचारिक रूपमा स्पष्ट पारेका हुन्।

सूचना अनुसार भारत बाहेक अन्य सबै देशमा नेपाल प्रिमियर लिगको ओटीटी प्रसारण अधिकार डिस मिडिया नेटवर्क लिमिटेडसँग रहेको छ। दर्शकहरूले डिसहोमको ‘डिसहाेम गाे’ एप डाउनलोड गरी लिगका सबै खेल हेर्न सकिने जानकारी गराइएको छ।

डिस मिडिया नेटवर्कलाई लिगका सम्पूर्ण खेलहरूको डिजिटल अधिकार प्रदान गरिएकोले डिसहाेम गाे बाहेक अन्य कुनै पनि डिजिटल प्लेटफर्म-जस्तै यूटुब, फेस्बुक, टिकटक, इन्स्टाग्राम, एक्स, टेलिग्राम वा अन्य वेबसाइट र एपबाट खेलहरूको प्रसारण, पुनःप्रसारण, रेकर्डिङ, सम्पादन वा कुनै पनि किसिमको सामग्री वितरण गर्नु गैरकानूनी हुने चेतावनी सूचना मार्फत दिइएको छ। अधिकार प्राप्त संस्था बाहेकबाट गरिने हरेक अनधिकृत प्रसारण तथा सामग्री उपयोग प्रचलित कानुन अनुसार दण्डनीय हुने जनाइएकाे छ ।

साथै क्यान र डिसहोमले दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदारलाई आधिकारिक प्लेटफर्ममार्फत मात्र खेल हेर्न आग्रह गरेका छन्। अनधिकृत लिंक वा साइटमार्फत खेल हेर्न खोज्दा व्यक्तिगत तथा वित्तीय जानकारी चोरी हुन सक्ने हुँदा त्यस्ता माध्यम प्रयोग नगर्न र नगर्न–नगराउन समेत अनुरोध गरिएको छ। कुनै पनि अनधिकृत प्रसारण देखिएमा तत्क्षण क्यान वा डिसहोमलाई जानकारी गरिदिन समेत अपिल गरिएको छ।