प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवद्वारा नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी फ्रन्टले माग्यो जवाफ


काठमाडाैँ । नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्रीको सचिवालयमा नातावाद र कृपावादको आधारमा नियुक्ति गरिएकाे भन्दै आपत्ति जनाएकाे छ । हालै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमतीसहित नातेदारलाई सचिवालयमा नियुक्त गरेको समाचार सार्वजनिक भएपछि फ्रन्टले ध्यानाकर्षण गराएकाे हो।

फ्रन्टका अनुसार कार्यकारी प्रमुखको सचिवालय जस्तो संवेदनशील निकायमा पारिवारिक सम्बन्धका आधारमा भएको नियुक्ति सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शितामाथि प्रत्यक्ष प्रहार हो। वर्षौँदेखि राज्य संयन्त्रभित्र जरा गाडेर बसेका यस्ता विकृतिविरुद्ध जेनजी विद्रोहको संघर्ष रहेको उल्लेख गर्दै फ्रन्टले यस्तो अभ्यास तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ।

फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पाँच बुँदे माग राख्दै प्रमुख स्वकीय सचिवश्रेष्ठको तत्काल बर्खास्ती र उनले नियुक्त गराएका आफ्ना परिवारजन तथा नातेदारको नियुक्ति खारेज गर्न माग गरेको छ। यस्तै सुशासन र जवाफदेहिताको नारामा बनेको सरकारमा नातावाद कसरी सम्भव भयो भन्ने विषयमा प्रधानमन्त्री कार्यालयले छिटो सत्यतथ्य सार्वजनिक गर्न पनि फ्रन्टले जोरदार माग गरेको छ।

सचिवालयमा हुने नियुक्ति, दरबन्दी निर्धारण र भूमिकालाई पारदर्शी र स्पष्ट मापदण्डमा आधारित बनाउन नीतिगत सुधार आवश्यक भएको फ्रन्टको भनाइ छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरीषद् सदस्यका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूको सम्पूर्ण विवरण सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गर्न कानूनी व्यवस्था मिलाउन पनि फ्रन्टले माग प्रस्तुत गरेको छ।

फ्रन्टले जेन–जी विद्रोहको म्यान्डेट पारदर्शिता, न्यायोचित प्रक्रिया र उत्तरदायित्वमै आधारित भएको उल्लेख गर्दै यस्ता अनियमितताविरुद्ध निरन्तर आवाज उठाइरहने जनाएको छ।