सरकारले निर्वाचनको वातावरण बनाउने काम नगरेको राष्ट्रिय सभाका सांसदहरूको आरोप


काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले आगामी निर्वाचन सुनिश्चित गर्न आवश्यक वातावरण बनाउन नसकेको भन्दै सरकारले कडा आलोचना खेपिरहेको छ।

सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सरकारको तयारी र पहल दुबै कमजोर रहेको आरोप लगाए।

नेपाली काँग्रेसका सांसद युवराज शर्माले जेन–जी आन्दोलनका क्रममा देखिएका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले अघि बढाउन खोजेको कदमलाई नै गृह मन्त्रालयले रोकिदिएको दाबी गर्दै सरकारप्रति आक्रोश प्रकट गरे

उनकाअनुसार, “सरकारले न सुरक्षा वातावरण बनायो, न त निर्वाचनमैत्री माहोल बनाउन कुनै ठोस प्रयास गर्यो।”
प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक नगरेको विषयमा पनि उनले कटाक्ष गरे।

सांसद शर्माले प्रश्न थप्दै भने, “जेन–जी विद्रोहबाट जन्मिएको यो सरकारमाथि प्रश्न नै प्रश्न छ। सुशासनका सवालमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै मौन छ। प्रतिबन्धित सवारीसाधन आयात खुलाउने निर्णयदेखि २४ भदौको तोडफोड–आगजनीमा संलग्नमाथि नचलाइएको कारबाहीसम्म सबैथोक शंकास्पद छ। यस्तो अवस्थामा चुनाव कुन वातावरणमा हुन्छ ?”

नेकपा एमालेकी सांसद सुमित्रा बिसीले संसद भवन निर्माण लगातार ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
उनका अनुसार, संसद भवन ८७ प्रतिशत काम सकिएको भनिए पनि बाँकी १३ प्रतिशत कहिले सम्पन्न हुन्छ भन्ने स्पष्ट नहुँदा राष्ट्रिय सभाको बैठक नयाँ भवनमा कहिले बस्छ भन्ने अनिश्चित छ।

“प्रतिनिधि सभा विघटन भइसके पनि राष्ट्रिय सभा त छ। बैठक सञ्चालनको वातावरण सरकार कहिले बनाउँछ ?” उनले प्रश्न उठाइन्।

त्यसैगरी, सांसद रेनु चन्दले सरकारले राष्ट्रिय गौरवका आयोजना अघि नबढाएर अर्को आन्दोलनको जग बसाइरहेको आरोप लगाइन्।
“२१ वटा राष्ट्रिय गौरवका आयोजना पूरा गर्न सरकार वा प्रशासन कुनै मोडमा देखिँदैन। रानी जमरा सिंचाइ आयोजना त सुदूरपश्चिमको एउटै गौरवको परियोजना हो—यसलाई समेत अघि बढाउने गति छैन,” उनले भनिन्।