काठमाडौं प्रहरीमा जेनजी आन्दोलनसम्बन्धी १०४ जाहेरी दर्ता, ४९ जनाको मृत्यु पुष्टि


काठमाडौँ । काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसँग सम्बन्धित हालसम्म १०४ वटा जाहेरी दर्ता भएको जनाएको छ।

सोमबार पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आन्दोलनका घटनाबारे दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिए। दर्ता भएका उजुरीमध्ये ७ वटा तामेलीमा राखिएको पनि प्रहरीले स्पष्ट गरेको छ।

प्रहरीका अनुसार काठमाडौं जिल्लामा ती दुई दिनका घटनामा ४९ जनाको मृत्यु दर्ता भएको छ। तीमध्ये ७ जनाको पहिचान अझै खुल्न नसकेको र उनीहरूको पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया जारी रहेको एसपी भट्टराईले बताए।

आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका २ सय २८ स्थानबाट क्षतिको विवरण संकलन गरिएको र सोही आधारमा कर्तव्यज्यान, आपराधिक उपद्राे, चोरी, हातहतियार तथा खरखजना, अभद्र व्यवहार र ज्यान मार्ने उद्योग सहितका १५४ मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।

दर्ता भएका मुद्दामा हालसम्म २ सय ६७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छाडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्। पक्राउ परेकामध्ये ५ जना मात्र महिला छन्।

प्रहरीले जेन–जी आन्दोलनका क्रममा जेलब्रेक गरी फरार भएका ५९ जनालाई पुनः पक्राउ गरिएको दाबी पनि गरेको छ। ती थुनुवा विभिन्न अभियोगमा सजाय काटिरहेका थिए।

बाँकी १५ जना समेत प्रहरीको सम्पर्कमै रहेको भट्टराईले बताए। उनले आन्दोलनका घटना, मानवीय क्षति तथा सम्पत्तिको नोक्सानीबारे थप अनुसन्धान भइरहेको र उजुरीहरूको प्रकृयागतरूपमा छानबिन जारी रहेको उल्लेख गरे।