जेनजी आन्दोलनका घटनामा १०४ उजुरी दर्ता, २ सय ६७ जना पक्राउ


काठमाडौँ । काठमाडौँ प्रहरीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्म १०४ ओटा जाहेरी दर्ता भएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत, सरकारी कार्यालय तथा विभिन्न संस्थागत क्षेत्रका उजुरी गरी जम्मा सो संख्या पुगेको जानकारी दिएको हो।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ ओटा छन्। आन्दोलनका क्रममा ४९ जनाको मृत्यु दर्ता भएको प्रहरीले जनाएको छ। तीमध्ये ७ जनाको पहिचान अझै नखुलेपछि डिएनए परीक्षणका लागि पठाइएको छ।

एसपी भट्टराईले हालसम्म प्राप्त ९ ओटा उजुरी तामेलीमा राखिएको जानकारी दिए। आन्दोलनका क्रममा काठमाडौं जिल्लाका २ सय २८ स्थानबाट क्षतिको विवरण संकलन गरिएको उनले बताए। सोही घटनासम्बन्धी कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजना, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी गरी १ सय ५४ मुद्दा दर्ता भएको छ।

यी मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ। तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान भइरहेको छ भने १ सय १३ जना न्यायिक हिरासतमा छन्। अदालतमा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् र ४३ जना पुर्पक्षका लागि थुनामा छन्। पक्राउ परेकामध्ये ५ जना मात्रै महिला रहेको प्रहरीले जानकारी दिएको छ।

यसबाहेक, जेनजी आन्दोलनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई पुनः पक्राउ गरिएको एसपी भट्टराईले बताए। तीमध्ये ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारसम्बन्धी सजाय काटिरहेका थुनुवासमेत रहेको उनले उल्लेख गरे। बाँकी १५ जना थुनुवासमेत प्रहरीको सम्पर्कमा रहेको परिसरले जनाएको छ।