खाद्य विभागद्वारा महालक्ष्मी दालमोठ उद्योग सील, १०२ बोरा दालमोठ स्टक रोक्का


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत मंसिर ५ गते काठमाडौँ उपत्यकाभित्रका विभिन्न खाद्य उत्पादन तथा बिक्री वितरण स्थलहरूको निरीक्षण तथा अनुगमन गरेको छ।

अनुगमनका क्रममा महालक्ष्मी दालमोठ उद्योग, चन्द्रागिरी–१२, काठमाडौँमा गम्भीर स्वच्छता समस्या भेटिएको विभागले जनाएको छ।

विभागका अनुसार उद्योगको बाहिरी परिसरको सरसफाइ सन्तोषजनक नरहेको पाइयो भने उद्योगभित्रको उत्पादन तथा प्रशोधन क्षेत्र अत्यन्तै खराब अवस्थामा रहेको पुष्टि भएको छ। भुइँ, भित्त्ता तथा छानो फोहोर र खुल्ला अवस्थामा देखिएका कारण उद्योग परिसरमा स्वच्छता जोखिम उच्च रहेको विभागले जनाएको छ।

सोही क्रममा उद्योगमा भण्डारण तथा व्यवस्थापन प्रणाली समेत अव्यवस्थित रहेको, कामदारहरूको व्यक्तिगत सरसफाइ समुचित नरहेको र पेष्ट कन्ट्राेलको व्यवस्था पनि असन्तोषजनक अवस्थामा भएको अनुगमन प्रतिवेदनमा उल्लेख छ। साथै उद्योग परिसरमा अजनता ब्राण्डको फुड कलर फेला परेको र सो रंग दालमोठ फ्राई गर्नुअघि प्रयोग गरिने गरेको पाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा १०२ बोरा (२५ पाकेट × ६०० ग्राम) दालमोठ उद्योगकै जिम्मामा राखी हाललाई स्टक रोक्का गरिएको छ। गम्भीर अनियमितता भेटिएकाले अर्को व्यवस्था नभएसम्म उद्योगबाट हुने सम्पूर्ण बिक्री वितरण रोक्का गरिनुका साथै उत्पादन कार्य तत्काल प्रभावबाट बन्द गरिएको विभागले जानकारी दिएको छ। यससँगै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।