काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै मंगलवार सर्वोच्च अदालतमा रिट पेश गरेको छ । निवर्तमान प्रमुख सचेतक महेश बर्तौलासहितका नेता अदालतमा उपस्थित भएर रिट बुझाएका हुन् ।
रिट दर्तासम्बन्धी प्रक्रिया अगाडि बढिरहेको बताउँदै बर्तौलाले सेतोपाटीसँग भने, “हामीले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै रिट पेस गर्यौं । रिट अध्ययनकै क्रममा छ । बेलुकीसम्म दर्ता प्रक्रिया अघि बढ्ला ।”
प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई न्यायिक रूपमा चुनौती दिँदै एमालेले संसद पुनर्स्थापना सर्वोत्तम संवैधानिक विकल्प भएको दाबी गरेको छ ।
यसैबीच, सोही दिन एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता निवेदन पनि पेस गरेको छ ।
निर्वाचन प्रयोजनका लागि रोजिएको नाम, चिन्ह र अन्य विवरणसहितको आवश्यक कागजात आयोगमा बुझाइएको एमालेले जनाएको छ ।
रिट दर्ता प्रक्रिया र दल दर्ता निवेदन दुवै अघि बढेपछि आगामी राजनीतिक क्रमबिकासमा एमालेका कदमले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्