ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार एक वक्तव्यमार्फत उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पोखरेलले पार्टीको ११औं महाधिवेशनलाई वस्तुगत विश्लेषण र नयाँ चुनौतीको सामना गर्ने नेतृत्व निर्माणको अवसरका रूपमा देखाउँदै, पार्टीको आन्तरिक लोकतान्त्रिकरण, नेतृत्व विकास, पारदर्शिता, आर्थिक अनुशासन र नवयुवाको प्रतिनिधित्व सुनिश्चित गर्न जोड दिए।

उनले पार्टी र जनसंगठनका हरेक तहमा महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक र अपाङ्गतासहितको समानुपातिक सहभागिता सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको बताए।

पोखरेलले पार्टीको नेतृत्वमा दुई कार्यकालको प्रावधान पुनःस्थापित गर्नुपर्ने, जिम्मेवारी अनुसार मूल्याङ्कन र पारदर्शी नेतृत्व चयन प्रक्रिया कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

उनले आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त राखेर स्वस्थ, मर्यादित र निर्भीक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै पार्टीको सार्वभौमिकता, नीति तथा नेतृत्व विकासमा सक्रिय सहभागिता सुनिश्चित गर्न आह्वान गरे।

उनले आफू पार्टी अध्यक्ष पदका उम्मेदवारको रूपमा प्रस्तुत भएको घोषणा गर्दै, पार्टी पुनर्गठन, संगठन सुदृढीकरण र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सबै सदस्यसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहज नेतृत्व हस्तान्तरणको लागि अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गरे।

पोखरेलले महाधिवेशन प्रतिनिधि छनोटमा उच्च विवेक, स्वस्थ प्रतिस्पर्धा र निर्भीक सहभागिताको आवश्यकता औंल्याउँदै, पार्टीको रक्षा र राष्ट्र तथा जनताको हितलाई सर्वोपरि राख्न सबै सदस्यहरूलाई आह्वान गरे।