विदेशी विद्यार्थी भर्ना गर्दा अनियमितता रोक्न अध्यागमन विभागको निर्देशन


काठमाडाैँ । नेपालका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा अध्ययनका लागि विदेशी विद्यार्थी भर्ना गर्दा केवल भिसा र आम्दानीको उद्देश्यमा नगर्न, विद्यार्थीको नियमित पठनपाठन सुनिश्चित गरी मात्र भिसा सिफारिस गर्न अध्यागमन विभागले सबै शैक्षिक संस्थालाई आग्रह गरेको छ।

अध्यागमन विभागका अनुसार अनुगमनको क्रममा कतिपय संस्थाहरूले विद्यार्थीलाई केवल आम्दानीका लागि भर्ना गर्ने, केही विदेशी नागरिकले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसा थप्न नक्कली कागजात पेश गरेको वा अध्ययन कोर्ष पूरा गरेपछि प्रमाणपत्र उपलब्ध गराउन नसकेको पाइएको छ। यस्ता गतिविधिहरूको जानकारी सम्बन्धित शैक्षिक संस्थाले विभाग वा स्थानीय प्रशासनलाई नदिएको समेत भेटिएको छ।

यसै सन्दर्भमा विभागले पठनपाठनबाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न विद्यार्थीको सूचना तत्काल स्थानीय प्रशासन वा अध्यागमन विभागलाई दिन आग्रह गरेको छ। साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरूलाई पनि नियमित अनुगमनका लागि अनुरोध गरिएको छ।

“अध्ययन भिसाको उद्देश्य विपरित कुनै विदेशी नागरिक गैरकानूनी क्रियाकलापमा संलग्न देखिएमा तुरुन्त जानकारी गराइदिनुहुन सबै शैक्षिक संस्थामा हार्दिक अनुरोध छ,” विभागले जारी गरेकाे सूचना भनिएकाे छ ।

विदेशी नागरिकहरूलाई नेपालको भाषा, संस्कृति, कला, साहित्य र संगीत लगायतका विभिन्न विधामा अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित विभागले अध्ययन भिसा उपलब्ध गराउँदै आएको छ। तर, यसलाई दुरुपयोग हुन नदिन विभागले निर्देशन जारी गरेको हो ।