बचत–ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा आबद्ध हुन प्राधिकरणकाे निर्देशन


काठमाडाैँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्र लिमिटेडको सदस्य बन्न अनिवार्य गरेको छ।

सहकारी ऐन, २०७४ को दफा ८१ अनुसार, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थाले कर्जा कारोबारसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्न कर्जा सूचना केन्द्रको सदस्यता लिनुपर्ने व्यवस्था छ।

यस सम्बन्धमा प्राधिकरणले कर्जा सूचना केन्द्रसँग चरणबद्ध बैठक र छलफल गरी सदस्यता प्राप्त गर्ने प्रक्रिया, तथ्याङ्क व्यवस्थापन प्रणाली तथा ऋण कारोबार सूचना आदानप्रदानको तालिम सम्पन्न गरेको छ।

त्यसैअनुसारमंसिर ९ गते सम्पन्न बोर्ड बैठकले सम्पूर्ण बचत तथा ऋणमुखी सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा आबद्ध हुन आह्वान गर्ने निर्णय गरेको जनाएको छ।

सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्रले जारी गर्ने सूचना अनुसार आवेदन दिएर सदस्यता प्राप्त गर्नुपर्ने छ। यसबाहेक, कर्जा सूचना केन्द्रले पनि सबै बचत तथा ऋणमुखी सहकारी संस्थालाई सदस्यता दिन सहजीकरण गर्नेछ।