काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिसा सुरक्षा प्रणाली कडा बनाउने उद्देश्यसहित नेपाली नागरिकका लागि ‘प्रि–स्क्रिनिङ’ प्रक्रिया थप कठोर बनाएको छ।
अब भिजिट होस् वा श्रम दुवै प्रकारका भिसामा आवेदन दिन नेपालीले अनिवार्य रूपमा नेपाल प्रहरीले जारी गरेको ‘प्रहरी रिपोर्ट’ पेस गर्नुपर्नेछ।
काठमाडौँस्थित यूएई दूतावासले यसअघि स्वेच्छिक रूपमा बुझाइने मानिएको प्रहरी रिपोर्टलाई अब ‘अनिवार्य कागजात’ को सूचीमा समेटिएको जनाएको छ। दूतावासका अनुसार, यो व्यवस्था लागू भएपछि भिसा छानबिन तथा प्रमाणिकरण प्रक्रिया अझ व्यवस्थित र सुरक्षित हुने अपेक्षा छ।
दूतावासले यससँगै नेपालीका लागि सबै प्रकारका भिसा पुनः खोलेको जनाएको छ। भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि यूएई सरकारले भिजिट र वर्किङ भिसा स्थगित गरेको थियो।
सो घटनामा जेलबाट कैदी फरार भएको मुद्दासँग जोडिँदै सरकारले अस्थायी रूपमा नेपालीलाई नयाँ भिसा नदिने निर्णय लिएको थियो।
भिसा अवरुद्ध हुँदा यूएईले वर्क परमिट जारी गरिसकेका करिब पाँच हजार नेपाली श्रमिक समयमै प्रस्थान गर्नबाट रोकिएका थिए।
यूएई दीर्घकालदेखि नै नेपालीका लागि प्रमुख रोजगारी गन्तव्य मानिन्छ, र नयाँ सुरक्षा नियम लागू भएपछि भिसा प्रक्रियामा स्पष्टता आउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्