काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको अपेक्षित सहभागिता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले यस विषयमा छलफल गरेका हुन् ।
सचिव पुस्करका अनुसार सरकारको तर्फबाट हुनुपर्ने नीतिगत व्यवस्थाहरू समयमै कार्यान्वयन नहुँदा निजी क्षेत्रको अपनत्व अपेक्षित रूपमा बढ्न सकेको छैन। तर आवश्यक सुधारका लागि सरकारले तयारी गरिरहेको र छिट्टै नीतिगत व्यवस्था परिमार्जन गर्ने प्रतिवद्धता रहेको उनले बताए ।
उनले भने, “योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले परिकल्पना गरेका योजनाहरू द्रुत गतिमा कार्यान्वयन भइरहेका छन्। यसले श्रमिकमा राज्यको संरक्षणको विश्वास जगाएको छ र भविष्य सुरक्षित भएको भरोसा दिएको छ। साथै, सामाजिक सुरक्षा योजनाले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने आधार पनि तयार पारेको छ।”
सचिव पुस्करले कोषलाई अझ प्रभावकारी बनाउन सबै पक्षको दायित्व रहेको उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रम, सहुलियत र आवद्धता सुनिश्चित गर्ने कार्यक्रमहरू मन्त्रालयले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए । हाल सामाजिक सुरक्षा कोषमा करिव २५ लाख आवद्धता पुगेको र कोषको पुँजी एक खर्ब रुपैयाँभन्दा बढी रहेको उनको भनाइ थियो।
उनले थपे, “सामाजिक सुरक्षा योजनाले समाज मात्र बलियो बनाउँदैन, सार्वजनिक वित्त प्रणाली र आन्तरिक पुँजी परिचालनलाई पनि सबल बनाउनेछ। आजको दिनले संकेत गरेको छ कि यो कोष देशकै सबैभन्दा ठूलो जनताको भरोसा भएको कोष बन्ने छ।”



प्रतिक्रिया दिनुहोस्