जेन–जी आन्दोलनमा जेलबाट भागेका मध्ये पाँच हजार कैदी अझै फरार


काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दीमध्ये ९ हजार ६९७ जना फर्किए पनि अझै करिब पाँच हजार कैदी फरार रहेकाले सुरक्षा निकायमाथि थप चुनौती सिर्जना भएको छ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले ४ हजार ८५७ जना अझै बेपत्ता रहेको जानकारी दिएका हुन्। उनका अनुसार फरार कैदीहरूलाई पक्राउ–फिर्ता गराउन सरकारले देशभर विशेष अपरेसन सञ्चालन गरिरहेको छ।

गृहमन्त्री अर्यालले ठूलो संख्यामा कैदी फर्किनु सकारात्मक भए पनि बाँकी कैदीहरूको खोजीलाई उच्च प्राथमिकतासहित अघि बढाइरहेको उल्लेख गरे। जेन–जी आन्दोलनका क्रममा जेल सुरक्षामै कमजोरी देखिएको र त्यसपछिका घटनाले कारागार व्यवस्थापन पुनर्मूल्यांकनको आवश्यकता झनै बढाएको सुरक्षा निकायको आन्तरिक मूल्यांकनले संकेत गरेका छन्।

फरार कैदीहरू नफर्कँदा स्थानीय सुरक्षा जोखिम बढ्न सक्ने भएकाले सबै तहका निकाय सक्रिय रूपमा खोजी तथा निगरानीमा जुटिरहेको सरकारले जनाएको छ।