काठमाडाैँ । अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमुलमा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकका गभर्नर प्रताप बहादुर थापा प्रमुख अतिथि र सचिव विजय सत्याल विशेष अतिथि रहेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसाय र उद्यमशीलताको विकासका लागि क्लबले गर्दै आएको गतिविधिलाई आगामी दिनमा अझ विस्तार र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले डेरी क्षेत्रका समस्या समाधान, ज्ञान विस्तार, व्यवसायिक क्षमता विकास र उद्यमीबिच सहकार्य मजबुत बनाउन क्लब सक्रिय रहने बताए। साथै, नयाँ कार्यसमितिलाई सक्षम, प्रतिबद्ध र परिणाममुखी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्लबका सदस्य, सरोकारवाला र अतिथिहरूको उपस्थितिमा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
चार्टर अध्यक्षमा रमेश सञ्जेल, उपाध्यक्षमा चेतनाथ दाहाल, सचिवमा सरोज ओझा, कोषाध्यक्षमा रामभक्त दाहाल र सदस्यहरूमा दिनेश सञ्जेल, सुरेश तिमल्सिना, हुद्धराज तिमल्सिना, दीपक तिमल्सिना, दीपक सञ्जेल, चेतनाथ दाहाल, भीम प्रसाद दाहाल, दीप प्रसाद धमला, यंक प्रसाद घिमिरे, शिव घिमिरे, सुवास दुलाल, सन्दीप घिमिरे, पितम्बरी खतिवडा र माधव सिवाकोटी पदस्थापन गरिएको छ।
प्रमुख अतिथि गभर्नर प्रताप बहादुर थापाले डेरी उद्योग नेपालको कृषिआधारित अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उद्यमीहरूले आधुनिक प्रविधि, गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिनुपर्ने बताए। उनले अप्टिमिष्टि संरचनाले नेतृत्व विकास, सेवा भाव र सकारात्मक परिवर्तनको संस्कार स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन सुझाव दिए।
विशेष अतिथि विजय सत्यालले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकले समुदाय विकास, नेतृत्व प्रशिक्षण, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले क्लबले छोटो समयमै उल्लेखनीय कार्यक्षमता देखाएको भन्दै आगामी दिनमा डेरी क्षेत्रमैत्री परियोजना, गोष्ठी र दिगो उद्यम प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।
नवनिर्वाचित चार्टर अध्यक्ष रमेश सञ्जेलले डेरी उद्यमीहरूको वास्तविक आवश्यकतामा केन्द्रित कार्यक्रम, सीप विकास प्रशिक्षण, बजार प्रवद्र्धनमा सहकार्य र सदस्यहरूबीच एकता सुदृढ बनाउन विशेष सक्रिय रहने प्रतिज्ञा गरे।
उनले नयाँ कार्यसमितिलाई समन्वय, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत क्लबलाई प्रदेश तथा राष्ट्रिय तहमा उदाहरणीय संस्थाको रूपमा स्थापित गर्ने बताए।



प्रतिक्रिया दिनुहोस्