काठमाडाैँ । नेपाल बिमा प्राधिकरणले गत असोज १८ गते परेको अविरल वर्षा तथा बाढी–पहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिसम्बन्धी बिमा दाबीमध्ये हालसम्म १ करोड १४ लाख रुपैयाँ बिमितहरुलाई भुक्तानी गरिएको जनाएको छ।
प्राधिकरणका अनुसार देशभरबाट प्राप्त ७४४ ओटा प्रारम्भिक दाबीको कुल दाबी रकम करिब ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ रहेको छ। विभिन्न १३ ओटा निर्जीवन बिमा कम्पनी र २ वटा लघु निर्जीवन बिमा कम्पनीले पठाएको अद्यावधिक विवरणअनुसार दाबी भुक्तानी क्रमशः अघि बढिरहेको प्राधिकरणले जानकारी दिएको छ।
सम्पत्ति बिमातर्फ ४०५ दाबीमध्ये करिब ३ अर्ब २१ करोड ५० लाख दाबी रकममध्ये ६४ लाख भुक्तानी भइसकेको छ। त्यस्तै, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा १०४ दाबी परेका छन्, जसको करिब ४७ करोड ६६ लाख दाबी रकममध्ये १ लाख ५४ हजार भुक्तानी भएको छ।
कृषि तथा बाली बिमातर्फ २१० दाबी दर्ता भएका छन्। करिब ४ करोड १४ लाख दाबी रकममध्ये १ लाख रुपैयाँ भुक्तानी गरिएको छ। मोटर बिमा (निजी) तर्फ ४० दाबी परेका छन्, जसको करिब २ करोड ८२ लाख दाबी रकममध्ये ४८ लाख रुपैयाँ बीमितले प्राप्त गरिसकेका छन्।
तर मोटर बिमा (सार्वजनिक) का १० दाबी (करिब १ करोड ८ लाख), अन्य बीमाका २ दाबी (करिब १२ लाख) र सामुद्रिक बीमाका ३ दाबी (करिब १० लाख) का भुक्तानी प्रक्रिया भने सुरू हुन नसकेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीका अनुसार बीमा कम्पनीहरूले दाबीको मूल्याङ्कन तथा भुक्तानी प्रक्रिया तीव्र बनाइरहेका छन्।



प्रतिक्रिया दिनुहोस्