काठमाडाैँ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले मैदानभित्र जति रौनक छर्किएको छ, मैदानबाहिर त्यत्तिकै व्यावसायिक चहलपहल बढेको छ।
मंसिर १ गतेदेखि सुरू भएको लिगका कारण स्टेडियम वरपरका सडकहरू छोटो अवधि चल्ने बजारझैँ बनेका छन्। दर्शकको उत्साहसँगै चिया, चाउचाउ, मःमदेखि क्लवका स्टिकर र जर्सीसम्म बेच्ने व्यापारीहरूको भिड बढेको छ।
मःम बिक्री गर्दै आएका व्यापारी अनिल सापकोटा भन्छन्, “दिनमा ३०–४० प्लेट मःम बिक्छ। सन्दीप लामिछानेको फ्यान भएकाले स्टलको नाम नै ‘गुग्ली मःम’ राखेको हुँ।” मैदानको माहोलले उनको व्यापार पनि बढेको छ।
उनीझैँ राजन शाक्यले झण्डा, क्याप, मास्कलगायत ६–७ प्रकारका सामग्री बिक्री गर्दै आएका छन्। “दिनमा ३ हजारदेखि १० हजारसम्म कमाइ भइरहेको छ। गत वर्षभन्दा केही कम हुन सक्छ, तर यो पटक पनि व्यापार ठिकै छ,” शाक्यको अनुभव छ।
तर सबै व्यापारी उनीहरूजति खुसी छैनन्। १८ वर्षीय धमन धामी भने मैदानभित्रको कडाइका कारण व्यवसाय प्रभावित भएको बताउँछन्। “दर्शक एकपटक भित्र गयो भने खेल सकिनुअघि बाहिर निस्कन पाउँदैन। यसले हामी बाहिर बस्ने व्यापारीको व्यापार चौपट बनाएको छ,” धामी गुनासो गर्छन्। उनका अनुसार यस्तो नियमले ठूला स्पोन्सर र व्यवसायीलाई फाइदा पुग्छ तर साना खुद्रा व्यापारी भने उपेक्षित हुन्छन्।
लिग सुरुको पहिलो तीन दिन त प्रशासनले स्टल राख्नै नदिएको सम्झिन्छिन् खुद्रा व्यवसायी रोशनी कोईराला। “पहिले निकै दुःख भयो, पछि समन्वय गरेर बल्ल स्थान पायौँ। अहिले चिया, चाउचाउ, बिस्कुट बेच्दैछु। एनपीएलले रोजगार त दियो, तर साना व्यापारीलाई हेर्ने दृष्टिकोण अझै सुधारिनुपर्छ,” उनको भनाइ छ।
मंसिर २७ गतेसम्म चल्ने एनपीएलले त्रिवि क्षेत्रलाई २७ दिनका लागि मेला बनेको छ। दर्शकको भीड, सवारीको चाप, खाद्यान्नको सुगन्ध—सबैले वातावरणलाई उत्साही बनाएको छ। तर स्टेडियमभित्रको कडा प्रवेश–निस्कन नियमले बाहिरका व्यापारमा ‘डट बल’ परेको अनुभूति व्यापारीहरूले गरिरहेका छन्। खेल मैदानभित्र चलिरहे पनि साना व्यापारीहरू भने एउटै प्रश्न दोहोर्याइरहेका छन्— “हामीलाई पनि मैदानभित्र खेल्ने अवसर किन दिइएन ?”



प्रतिक्रिया दिनुहोस्